वाग्मती प्रदेशको अन्य समूहतर्फ रिक्त भएको राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका लागि रामबहादुर थापा ‘बादल’ र खिमलाल देवकोटा भिड्ने भएका छन् । बादल एमाले अध्यक्ष केपी शर्मा ओली पक्षका उम्मेदवार हुन् भने देवकोटा एमालेकै माधव नेपाल पक्षबाट चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् ।
हेटौंडास्थित निर्वाचन आयोगको कार्यालयका अनुसार बादल र देवकोटासँगै नेपाल मजदूर किसान पार्टीका कृष्णबहादुर तामाङको उम्मेदवारी दर्ता भएको छ । मुख्य प्रतिस्पर्धी भने बादल र देवकोटा हुन् र, दुवै नेकपा एमाले हुन् ।
बादलको उम्मेदवारी प्रस्तावकमा वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र समर्थकमा सामाजिक विकास मन्त्री सरस्वती बस्नेत छन् । देवकोटाको प्रस्तावकमा माओवादी केन्द्रका प्रदेशसभा संसदीय दलका नेता शालिकराम जम्मकट्टेल छन् भने समर्थक कांग्रेस सांसद राधा घले छिन् ।
२०७४ सालको निर्वाचनमा माओवादी केन्द्रका तर्फबाट नेता रामबहादुर थापा ‘बादल’ यही ठाउँबाट निर्वाचित भएका थिए । पार्टी परित्याग गरी एमालेमा गएपछि माओवादी केन्द्रले बादललाई राष्ट्रियसभा सदस्यबाट पद मुक्त गरेको थियो ।
गृहमन्त्री समेत रहेका बादलको सांसद पद गुमेकाले खाली भएको ठाउँमा जेठ ६ गते उपनिर्वाचन हुन लागेको हो । माओवादी केन्द्र छाडेर एमालेमा आएका कारण केपी ओली पक्षले बादललाई नै पुनः उम्मेदवार बनाएको छ ।
प्रकाशित मिति २०७८ वैशाख २६ गते आइतबार ०८:२६




