प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभाबाट विश्वासको मत लिन असफल भएपछि पदमुक्त भएका छन् । नयाँ सरकार नबनेसम्म यो सरकार नै कामचलाउको रुपमा रहनेछ ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा प्रधानमन्त्रीको तर्फबाट प्रस्तुत विश्वासको मतको पक्षमा ९३ र विपक्षमा १ सय २४ मत परेपछि उनि स्वतं पदमुक्त हुनपरेको हो ।
सभामुख अग्निप्रसाद सापकोटाले संविधानको धारा १०० को उपधारा १ बमोजिम विश्वासको प्रस्तावको पक्षमा ९३ मत परेको र सो संख्या प्रतिनिधिसभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमत नरहेकाले प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको विश्वासको प्रस्ताव अस्वीकृत भएको घोषणा गरे ।
प्रधानमन्त्री ओलीमाथि विश्वास छ भनी ९३ जना सांसदले मतदान गरेका छन् भने प्रधानमन्त्री ओलीप्रति विश्वास छैन भनी १ सय २४ सांसदले मतदान गरेका छन् । १५ जना सांसदले मत दिन्न भन्ने पक्षमा मतदान गरेका छन् । बैठकमा २ सय ३२ जना सांसद उपस्थित थिए ।
त्यसैगरि सरकारले प्रतिनिधिसभाको विशेष अधिवेशन सोमबार राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गर्न सिफारिश गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिश गरेको हो ।




