गण्डकी प्रदेशमा दोस्रो पटक मुख्यमन्त्री बनेका पृथ्वीसुब्बा गुरुङले पहिलो निर्णय प्रदेशको कोभिड कोषलाई ४ करोड दिने घोषणा गरेका छन् ।
सपथ ग्रहण लगतै पत्रकारसंग संक्षिप्त कुरा गर्दै मुख्यमन्त्री गुरुङले कोरोना संक्रमण नियन्त्रण र रोकथामका लागि प्रदेशको कोभिड कोषमा सरकारको तर्फबाट ४ करोड दिने घोषणा गरेका हुन् । निमित्त प्रमुख सचिव रामचन्द्र ढकालले दिएको उक्त फाइलमा मुख्यमन्त्री गुरुङले हस्ताक्षर गरेका छन् । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनस् नियुक्त भएका गुरुङलाई प्रदेश प्रमुख सीता पौडेलले बुधबार साँझ पद तथा गोपनीयताको शपथ छिन् ।
गुरुङले वैशाख २६ गते राजीनामा दिएपछि प्रदेश प्रमुख पौडेलले तीन दिनको समय दिएर प्रदेशसभाका दलहरुलाई बहुमतको सरकार गठनको दावी पेश गर्न आह्वान गरेकी थिइन् ।
बुधबार नेपाली कांग्रेसका सांसद कृष्णचन्द्र नेपाली पोखरेलले आफूलाई चार दलका ३१ सांसदको समर्थन रहेको भनी दावी पेश गरेका थिए । तर प्रदेश प्रमुख पौडेलले पोखरेलको दावी नपुग्ने भन्दै संविधानको धारा १६८ ९३० अनुसार गुरुङलाई अल्पमतको सरकारको मुख्यमन्त्रीको रुपमा नियुक्त गरेकी हुन् ।
अब मुख्यमन्त्री गुरुङले एक महीनाभित्रमा प्रदेशसभामा विश्वासको मत लिनुपर्नेछ ।
प्रकाशित मिति २०७८ वैशाख २९ गते बुधबार ०८:३५




