उत्तरी गाजामा शंकास्पद गतिविधिमा संलग्न धेरै व्यक्तिहरूलाई लक्षित गरी आक्रमण
प्यालेस्टिनी स्वास्थ्य अधिकारीहरू र चिकित्सा स्रोतहरूकाअनुसार इजरायली सेनाले आईतवार गाजापट्टीमा चार प्यालेस्टिनीहरूको हत्या गरेको छ ।
इजरायली सेनाले गाजा पट्टीको उत्तरमा रहेको बेइत हानौन शहरमा स्थानीयहरूको समूहलाई सैन्य ड्रोनले आक्रमण गरेर दुई प्यालेस्टिनीहरूलाई मारेको हो ।
सेनाले उत्तरी गाजामा सैन्य स्थानहरू नजिकै शंकास्पद गतिविधिमा संलग्न धेरै व्यक्तिहरूलाई लक्षित गरी आक्रमण गरेको बताएको छ ।
उनीहरूले विस्फोटक उपकरण राखेको आरोप लगाएको थियो । यसैबीच स्थानीय स्रोतहरू र प्रत्यक्षदर्शीहरूले हवाई आक्रमणका कारण बेइत हानौनको पूर्वी क्षेत्रहरूबाट सयौं परिवारहरूको ठूलो विस्थापन भएको रिपोर्ट गरेको छ ।
एउटा छुट्टै घटनामा, दक्षिणी गाजाको खान युनिसको पूर्वमा रहेको अल–फरहिन शहरमा इजरायली बमबारीपछि चिकित्सा टोलीहरूले एक महिलाको शव निकालेका छन् भने दुई घाइतेहरूको उद्धार गरेका छन् ।
रफाहमा शहरको केन्द्रमा रहेको आफ्नो घरको छतमा बसिरहेका बेला इजरायली बन्दुकधारीको गोली लागेर एक युवकको मृत्यु भएको छ । इजरायली सेनाले खान युनिस र रफाहमा भएका घटनाहरूमा कुनै टिप्पणी गरेको छैन ।
यी घटनाक्रमहरू इजरायल र हमास बीचको युद्धविराम सम्झौताको पहिलो चरण समाप्त भएको एक दिनपछि आएका हुन् । जुन दोस्रो चरणमा वार्ता हुने भनिएको थियो ।
प्रकाशित मिति २०८१ फागुन १९ गते सोमबार १२:१५




