पोखरा ।
गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुु कुमार थापा र भारतको पुदुचेरी सरकारका उच्च पदाधिकारीहरू बीच भेटवार्ता भएको छ ।
सोमबार मन्त्रालयमा नै पुदुचेरी सरकारका सार्वजनिक निर्माण, पर्यटन तथा नागरिक उड्डयन, माछापालन तथा माछा व्यवसाय कल्याण, कानून, सूचना प्रविधि तथा मुद्रण विभागका मन्त्री माननीय के.लक्ष्मीनारायणन, उपसभामुख पी.राजवेलु र पुदुचेरी विधानसभाका सचिव जे.दयालन लगायतको टोलीसँग भेटवार्ता भएको हो ।
भेटवार्ताका क्रममा पर्यटन प्रवद्र्धन, खेलकुदको विकास, सामाजिक क्षेत्र सुधार तथा सूचना प्रविधिमा सहकार्यका सम्भावनाहरूबारे छलफल भएको छ । मन्त्री थापाले पुदुचेरीको पर्यटन विकास र प्रशासनिक व्यवस्थापनका अनुभवहरूबाट सिक्ने अवसर रहेको बताउँदै दुवै प्रदेशबीच आपसी अनुभव आदानप्रदान गर्नुपर्नेमा जोड दिए ।
पुदुचेरीका मन्त्री लक्ष्मीनारायणनले दुई प्रदेशबीच पर्यटन, खेलकुद, सामाजिक विकास तथा प्रविधि क्षेत्रमा सहकार्यका ढोका खोल्न सकिने बताए । भेटवार्ताले भविष्यमा गण्डकी प्रदेश र पुदुचेरी सरकारबीच सम्बन्धलाई अझ प्रगाढ बनाउने अपेक्षा गरिएको छ ।
मन्त्री थापाले भेटवार्ता फलदायी भएको उल्लेख गर्दै आगामी दिनहरूमा थप सहकार्यका सम्भावनाहरू खोज्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रकाशित मिति २०८१ फागुन १९ गते सोमबार ०५:०३




