पोखरा ।
गण्डकी प्रदेशमा विद्युत विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा पेस भएको छ ।
गण्डकी प्रदेश सभाको विहिबार बसेको बैठकमा उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री फणीन्द्र देवकोटाले विधेयक सभामा पेस गरेका हुन् । विधेयकले जलविद्युत्, सौर्य तथा वायु ऊर्जा उत्पादन, प्रसारण, वितरण र व्यापारका लागि कानुनी आधार तयार गर्ने लक्ष्य लिएको छ ।
यस्तै बैठकमा प्रदेश निजामती ऐन २०७९ लाई संसोधन गर्न बनेको विधेक २०८१ पेश भएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अनुपस्थितिमा सामाजिक विकास मन्त्री बिन्दुकुमार थापाले विधेयक पेस गरेका हुन् ।
अध्यादेशबाट गरिएको व्यवस्थालाई निरन्तरता दिनलाई आवश्यक भएकाले निजामती ऐनको पहिलो संसोधन अध्यादेश २०८१ लाई प्रतिस्थापन गर्न बनेको विधेयक २०८१ सभामा पेश गरिएको हो । सरकारले जारी गरेको अध्यादेश फागुन २ गते बसेको प्रदेश सभा बैठकले प्रदेश सभा बैठकमा पेस गर्नका लागि स्विकृती दिएको थियो ।
यस्तै अर्थ तथा विकास समितिमा दफावर छलफलका लागि पठाइएका दुइवटा विधेक समितिबाट सर्वसम्त पास पछि सभामा पेस गरिएको छ ।
असोज ७ गते बैठकबाट दफावार छलफलका लागि अर्थ विकास समितिमा पठाइएको गण्डकी प्रदेशमा साझोदारी फर्म नियमन तथा व्यव्स्थापन गर्न बनेको विधेयक र गण्डकी प्रदेशमा सार्वजनिक सडक निर्माण, विस्तार तथा मर्मत सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक अर्थ तथा विकास समितिमा सभापति भोजराज अर्यालले सभामा पेस गरे ।
बैठकको प्रारम्भमा प्रदेश सभा सदस्यहरुले जनजीविका र आफ्नो क्षेत्रका विकास निर्माणका समस्याहरुमा सरकारको ध्यानाकर्षण गराएका थिए ।
प्रकाशित मिति २०८१ फागुन २२ गते बिहीबार ०६:०४




