२०८३ साउन २१ गते बिहीबार

नेपालमा पूर्वाधार बनाउनु अभिशाप जस्तो हुन थाल्योः व्यवसायीहरु

नेपालमा पूर्वाधार बनाउनु अभिशाप जस्तो हुन थाल्योः व्यवसायीहरु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ फागुन २३ गते शुक्रबार ०४:१४

केही राजनीतिक दलका नेताहरु र केही संघसंस्थाहरुले विकासका कामलाई बिरोध गर्ने गरेको बताए ।

काठमाडौं ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा रोजगारी सिर्जना गर्नु, लगानी गर्नु, सरकारलाई ट्याक्स तिर्नु, आम नागरिकलाई सुविधा दिनु र पूर्वाधार बनाउनु दुष्कर्म गरेको जस्तो भएको टिप्पणी गरेका छन् ।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई समबोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपालमा लगानी गर्नु, पूर्वाधार बनाउनुलाई नकारात्मक रुपमा लिने गरिएको उल्लेख गरे । केही राजनीतिक दलका नेताहरु र केही संघसंस्थाहरुले विकासका कामलाई बिरोध गर्ने गरेको बताए ।

विकासका काममा राजनीति कसको लागि गर्दै हुनुहुन्छ ? भन्दै प्रश्न गरे । नकारात्मकतालाई अघि बढाइराख्ने कुरा राम्रो नभएको पनि बताए । अध्यक्ष ढकालले लगानी गर्ने, रोजगारी सिर्जना गर्ने, पूर्वाधार बनाउनेहरुको बिरोध गर्ने भए के खोजेको हो ? भन्दै प्रश्न गरे ।

उनले भने, ‘नेपालमा रोजगारी सिर्जना गर्ने, लगानी गर्ने, सरकारलाई ट्याक्स तिर्ने, आम नागरिकलाई सुविधा दिने, पूर्वाधार बनाउनु भनेको अभिशाप हो की जस्तो देखिएको छ । यहाँले हेर्नुभयो भने नकारात्मक हिसावले लिने गरिएको छ । यो साँच्चै यसलाई प्रमोट गरेर जाने हो भने हाम्रो राजनीतिक दलका नेताहरुको के भयो भने यो चिजहरुकै नाममा बिरोध भएको देखिन्छ । यो नै हो भने के र कसको लागि राजनीति गर्दै हुनुहुन्छ । म कतिपय राजनीतिक दलका तर्फबाट विकास निर्माण, रोजगारी सिर्जना, पूर्वाधार बनाउने कुराको बिरोध गरिएको छ । कतिपय संघ, संस्थाहरुले यसको नाममा बिरोध गरिरहेका छन् । कतिपय अवस्थामा मिडियाले पनि त्यसलाई प्राथमिकता दिएका छन् । हामी नकारात्मकतालाई अघि बढाइराख्ने, रोजगारी दिने, पूर्वाधार बनाउने मान्छेको बिरोध गर्ने हो भने राजश्व तिरेर सरकारलाई चाहिने रेभिन्यु तिर्नेहरुको बिरोध गर्ने हो भने समाज हामीले कस्तो बनाउँदैछौँ ?’

कार्यक्रममा बोल्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले उद्यमी व्यवसायीहरुको उत्साहमा कमी आउनु, मनोबल खस्किन दिनु नहुने बताए । उनले सानो अर्थतन्त्र भएको नेपालमा पछिल्ला दुई वर्षमा ७५ हजार भन्दा बढी व्यक्तिहरु कालोसूचिमा पर्नु चिन्ताको विषय भएको उल्लेख गरे । चुनौति लिएर थप नयाँ उद्योग व्यवसाय सञ्चालन गर्न उद्योगी व्यवसायीहरुलाई आँट आउन नसक्नुले थप समस्या निम्तिने जिकिर गरे ।

उनले भने, ‘उद्यमी व्यवसायीहरुको उत्साहमा कमी आउनु, मनोबल खस्किनुको पछाडि कोभिड महामारी, रुस—युक्रेन युद्ध लगायत रहेको छ । नेपाल जस्तो सानो अर्थतन्त्र भएको मुलुकमा पछिल्ला दुई वर्षमा ७५ हजार भन्दा बढी व्यक्तिहरु कालोसूचिमा पर्नु चिन्ताको विषय हो । अहिले पनि झन विकराल हुँदै गइरहेको छ । रिस्क लिएर थप नयाँ उद्योग व्यवसाय सञ्चालन गर्न बैंक तथा वित्तीय संस्थाहरुले गर्दा उद्योगी व्यवसायीहरुलाई आँट पनि आउन सकेको छैन ।’

अध्यक्ष अग्रवालले नेपालको अर्थतन्त्रमा महत्वपूर्ण प्रभाव केन्द्रिय बैंकको रहने र मुलुकको आर्थिक नीति सफल बनाउन मौद्रिक नीति जारी गर्ने केन्द्रिय बैंक भएपनि केही समय यता आर्थिक नीति र मौद्रिक नीतिबीच तालमेल नमिलेको बताए । जसले निजी क्षेत्रले ठूलो आर्थिक क्षति व्यहोरिरहेको उल्लेख गरे ।

राजनीतिक आस्था भन्दा पनि कुशल अर्थविद्लाई गभर्नर नियुक्त गर्नुपर्ने सुझाव दिए ।

प्रकाशित मिति २०८१ फागुन २३ गते शुक्रबार ०४:१४
हजुरको प्रतिक्रिया