महिला आन्दोलनले ल्याएका परिवर्तन र उपलब्धीलाई संस्थागत गर्दै अघि बढ्नुपर्छ : विन्दुकुमार थापा
पोखरा ।
गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले महिला आन्दोलनले विश्वभर ल्याएको परिवर्तन एवं प्राप्त उपलब्धीहरूलाई संस्थागत गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् ।
११५औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आज अन्तर्राष्ट्रिय महिला दिवस मूल समारोह समिति गण्डकी प्रदेश पोखराले आयोजना गरेको प्रभातफेरी कार्यक्रममा विशेष सम्बोधन गर्दै मन्त्री थापाले सो कुरामा जोड दिएका हुन् ।
समाजलाई थप न्यायपूर्ण, समान र सशक्त बनाउँदै लैङ्गिक समानता स्थापनाको ८ मार्चलाई अन्तर्राष्ट्रिय नारी दिवसका रुपमा मनाउँदै आएको र प्रदेश सरकारले समेत उक्त अवसरमा कार्यक्रमको आयोजना गर्दै आएको उनले बताए ।
मन्त्री थापाले नेपालमा दशकौं लामो राजनीतिक आन्दोलनको परिणामस्वरूप महिला सशक्तीकरणको क्षेत्रमा उल्लेखनीय उपलब्धीहरू हासिल भएको बताए । संविधानमार्फत महिला सहभागिता र प्रतिनिधित्व सुनिश्चित गर्न गरिएका कानूनी व्यवस्थाहरूको चर्चा गर्दै उनले मुलुकका तीनै तहका सरकार, संसद र नीति निर्माणका निकायमा महिलाको नेतृत्वदायी भूमिका सुदृढ भएको उल्लेख गरे ।
“पछिल्ला वर्षहरूमा नेपालले लैङ्गिक समानताका विभिन्न सूचकहरूमा प्रगति गरिरहेका छ । यसलाई थप परिणाममुखी बनाउन महिला सशक्तीकरण, आर्थिक, सामाजिक र संरचनात्मक रुपान्तरण अति आवश्यक छ”, उनले भने ।
मन्त्री थापाले स्वदेशमा महिलाहरू समान कामका लागि समान पारिश्रमिक नपाउने, महिला भएकै कारण हिंसामा पर्ने, रोजगारीका लागि विदेशिनुपर्ने जस्ता समस्या विद्यमान रहेको उल्लेख गर्दै यी समस्याहरू समाधान गर्न कानूनी, नीतिगत र व्यवहारिक सुधारहरू आवश्यक रहेको बताए ।
महिला सशक्तीकरण, सहभागिता र समानताको विषय केवल महिला सरोकारको विषय नभई यसका लागि हामी सबैको समान र सक्रिय भूमिका आवश्यक रहेको भनाई उनको छ ।
उनले महिला अधिकार सुनिश्चित गर्न, प्रभावकारी कानूनी सुधार र नीतिहरू लागू गर्ने गरी प्रदेश सरकार अगाडि बढेको जानकारी गराए ।
महिलाहरूका लागि उद्यमशीलता, स्वरोजगार र सीप विकास कार्यक्रमहरू सञ्चालन गरी महिला उद्यमीहरूलाई सहुलियतपूर्ण ऋण, अनुदान र बजार पहुँच सुनिश्चित गर्ने बाटोमा प्रदेश सरकार अग्रसर रहेको भनाई उनको छ ।
बालिका शिक्षामा जोड दिँदै शैक्षिक संस्थामा लैङ्गिक मैत्री वातावरण निर्माण गर्ने र प्राविधिक शिक्षा र व्यावसायिक तालिममार्फत महिलाहरूलाई आत्मनिर्भर बनाउने प्रतिबद्धता मन्त्री थापाको छ ।
गण्डकी प्रदेश सरकारले महिलामैत्री स्वास्थ्य सेवा विस्तार गर्दै गर्भावस्था, प्रसूति र मानसिक स्वास्थ्य सेवामा विशेष ध्यान दिएको उनले उल्लेख गरे ।
उनले महिलाविरूद्ध हुने सबै प्रकारका हिंसा, विभेद, उत्पीडन एवं समाजमा विद्यमान विकृत प्रथा र परम्परालाई निर्मूल गर्दै समानता र न्याय सुनिश्चित गर्न सबैलाई थप ऊर्जा र उत्साह प्राप्त होस् भन्ने कामना गरेका छन् ।
कार्यक्रममा बोल्दै राष्ट्रिय मानवअधिकार आयोग पोखराका प्रमुख नितु गड्तौलाले समानता र महिला अधिकार प्रत्याभूत हुने कुरामा सबैको जोड हुनुपर्ने आवश्यकतालाई औंल्याइन् ।
कार्यक्रममा गैर सरकारी संस्था महासंघ प्रदेशका उपाध्यक्ष पदम पहारी लगायतले आ–आफुना धारणा राखेका थिए ।
कार्यक्रममा सुरक्षाकर्मी, मानवअधिकारकर्मी, सामाजिक अभियान्ता र विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो ।
पोखराको जिरो किलोमिटरबाट सुरु भएको प्रभातफेरी कार्यक्रम पृथ्वीचोकमा पुगेर समापन गरिएको थियो ।

प्रकाशित मिति २०८१ फागुन २४ गते शनिबार १०:२८




