२०८३ साउन २१ गते बिहीबार

महिलाविरुद्ध हुने सबै खाले हिंसाको अन्त्य गरौँः प्रदेश प्रमुख भट्ट

महिलाविरुद्ध हुने सबै खाले हिंसाको अन्त्य गरौँः प्रदेश प्रमुख भट्ट

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ फागुन २४ गते शनिबार १०:३१

आन्दोलनमा अघि रहेका महिलाहरू अधिकारमा सधैं पछि परेको अवस्थामा नयाँ संविधानले प्रत्येक महिलालाई समान हकलगायतका अधिकार सुनिश्चित गरेको र महिलामा आएको जागरणले राजनीतिसहित राज्यको हरेक क्षेत्रमा उनीहरूको सहभागिता बढेको उनले उल्लेख गरेका छन् ।

‘आन्दोलनमा अघि रहने महिलालाई अधिकारमा पछि पार्नु हुँदैन’

 

पोखरा ।

गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले अन्तर्राष्ट्रिय महिला दिवसले महिला स्वतन्त्रता, समानता र सामाजिक न्याय स्थापित गर्न थप उर्जा, उत्साह एवं प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।

११५ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शनिबार शुभकामना सन्देश जारी गर्दै उनले यो दिवस महिलाको हकअधिकारका साथै आर्थिक, सामाजिक, राजनीतिक तथा सांस्कृतिक विकासका लागि आवाज उठाउने दिनको स्मरण गर्दै प्रत्येक वर्ष ८ मार्चमा विश्वभर मनाउने गरिएको उल्लेख गरेका हुन् ।

भट्टद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ, ‘लैंगिक समानता, महिला सशक्तीकरण, महिला अधिकारको सुनिश्चितता, सर्वाङ्गीण विकासका साथै उनीहरुको आवश्यकताका लागि सामाजिक जागरण ल्याउन यो दिवसको विशेष महत्व रहेको छ’ । ‘राज्यका हरेक निकायमा समानुपातिक, समावेशी र सहभागितामूलक सहभागिताको हक सुनिश्चित भएको छ । इतिहासका खास–खास कालखण्डमा नेपाली महिलाहरुले देखाएको अदम्य साहस, कठिन संघर्ष र बलिदानका कारण यी उपलब्धि हासिल भएका हुन् ।’

आन्दोलनमा अघि रहेका महिलाहरू अधिकारमा सधैं पछि परेको अवस्थामा नयाँ संविधानले प्रत्येक महिलालाई समान हकलगायतका अधिकार सुनिश्चित गरेको र महिलामा आएको जागरणले राजनीतिसहित राज्यको हरेक क्षेत्रमा उनीहरूको सहभागिता बढेको उनले उल्लेख गरेका छन् ।

शुभकामना सन्देशमा भनिएको छ– ‘राज्यका हरेक तहमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गरेपनि भुइँ मान्छेहरूले अझै त्यसको अनुभूति गर्न नसकेको अवस्था पनि छ । महिलामाथि हुने हिंसा र अन्याय त्यसको बाधक हो । महिलाविरुद्ध हुने सबै खाले हिंसाको अन्त्यका लागि आम नागरिकलाई जागरुक गराउन अन्तर्राष्ट्रिय महिला दिवसले सहयोग पु¥याउने विश्वास लिएको छु ।’

प्रकाशित मिति २०८१ फागुन २४ गते शनिबार १०:३१
हजुरको प्रतिक्रिया