२०८३ साउन २१ गते बिहीबार

समतामूलक समाज निर्माणको बलियो जग शिक्षाः प्रदेश प्रमुख भट्ट

समतामूलक समाज निर्माणको बलियो जग शिक्षाः प्रदेश प्रमुख भट्ट

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ फागुन २४ गते शनिबार ०६:०९

उनले भने – ‘शिक्षा क्षेत्रमा नविन प्रविधिलाई आत्मसाथ गर्दै देश सुहाउँदो र मौलिक पहिचानको प्रवद्र्धन गरी असल अभ्यासहरुमा समाहित गर्नु हरेक विद्यालयहरुको अपरिहार्य आवश्यकता हो।’

पोखरा ।

गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले समतामूलक एवं न्यायपूर्ण समाज निर्माणको बलियो जग शिक्षा रहेको बताएका छन् । चेतनाको संवाहक र बालबालिकाको चौतर्फी विकासको आधारशीला शिक्षा रहेको उनको जोड छ ।

पोखराको लामाचौरस्थित गण्डकी बोर्डिङ स्कूललले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि भट्टले विद्यार्थी केन्द्रित शिक्षाको माध्यमबाट बालबालिकाको क्षमता र प्रतिभाको विकास गर्नु शिक्षाको उद्देश्य रहेको उल्लेख गरे ।

‘बालबालिकाको रुची अनुसार वातावरण तयार गरी प्रतिभा प्रस्फुटनको अवसर विद्यालयले दिन सक्नुपर्दछ ।’ उनले भने – ‘शिक्षा क्षेत्रमा नविन प्रविधिलाई आत्मसाथ गर्दै देश सुहाउँदो र मौलिक पहिचानको प्रवद्र्धन गरी असल अभ्यासहरुमा समाहित गर्नु हरेक विद्यालयहरुको अपरिहार्य आवश्यकता हो।’

कुशल व्यवस्थापन, दक्ष शिक्षक र युग सापेक्ष सुधारिएको शिक्षण सिकाई प्रविधि र क्रियाकलापले गुणस्तरीय शिक्षा मिल्ने भन्दै उनले शिक्षाको माध्यमबाट समाज विकासमा गरिने हरेक सत्प्रयासमा आफ्नो साथ रहने प्रतिबद्धता जनाए ।

जिबिएसको उत्पादन राज्यका विभिन्न विशिष्ट पदहरुमा पुगेर सेवा गरिरहेको पाएको बताउँदै उनले अन्तर्राष्ट्रिय स्तरमा प्रतिष्पर्धा गर्न सक्षम नागरिक तयार पार्न महत्वपूर्ण योगदान दिएको यस स्कूलको सफलताको श्रृंखला अघि बढ्दै जाओस् भन्ने कामना पनि गरे ।

छात्रावासको सुविधासहित निश्चित कोटा नै छुट्याएर देशका वर्षेनी करिब २०० विद्यार्थीलाई उत्कृष्टताका आधारमा छात्रवृत्तिसहित अध्ययन गराउँदै आएको विद्यालयले सुगम र दुर्गम क्षेत्र, सम्पन्न र विपन्न परिवारका बीचको खाडललाई पुर्न र बालबालिकाहरुमा सानैदेखि समानभाव जागृत गर्न भूमिका खेलेको भन्दै उनले विद्यालयको प्रशंसा गरे ।

प्रकाशित मिति २०८१ फागुन २४ गते शनिबार ०६:०९

हजुरको प्रतिक्रिया