पोखरा
देशकै सबैभन्दा धेरै विद्यार्थी रहेको पोखराको पृथ्वीनारायण क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) अध्यक्षका लागि ८ जनाले उम्मेदवारी दिएका छन् ।
मंगलबार स्ववियु निर्वाचन कार्यालयमा पुगेर ८ जनाले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन् । नेकपा एमाले निकट अनेरास्ववियुबाट विष्णु पोखरेल, कांग्रेसनिकट नेविसंघबाट सुशिल न्यौपाने र माओवादी केन्द्रबाट अखिल क्रान्तिकारीबाट नविन अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै अनेरास्ववियू, अखिल समाजवादी विप्लव, अखिल क्रान्तिकारी बहुमतसहितको संयुक्त मोर्चाबाट सन्तोष पौडेल, अखिल छैटौंबाट मिलन सुनार, प्राज्ञिक विद्यार्थी परिषद्बाट दिप्सन गुरुङले अध्यक्षमा उम्मेदवारी दिँदा विप्लबी न्यौपाने र कमल सुवेदीले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका छन् । स्ववियुको निर्वाचन चैत ५ गते हुनेछ । स्ववियु निर्वाचनका लागि पिएन क्याम्पसमा ९ हजार बढी मतदाता रहेका छन् । अनेरास्ववियु, नेविसंघ, अखिल क्रान्तिकारीसहितका संगठन प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन् ।







