अध्यक्ष दाहाल भन्छन् : 'हाम्रो मुख्य लडाईं सरकारसँग हो, राजावादीहरुसँग होइन'
काठमाडौं ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नेपाली काँग्रेस र नेकपा एमालेले संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउने विश्वास गर्न नसक्ने बताएका छन् ।
शनिबार भक्तपुरमा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
एमाले र काँग्रेसप्रति लक्षित गर्दै उनले यथास्थितिवादीहरु अफ्ठ्यारो भएको खण्डमा प्रतिगमनकारीतिर मिल्नसक्ने जिकिर गरे ।
संविधान घोषणा गर्न हुन्न भन्ने र गणतन्त्र सम्भव छैन भन्ने नेताहरु संघीय लोकतान्त्रिक गणतन्त्रको सरकारको नेतृत्व गरेर संघीय गणतन्त्रको फल खाइरहेको भएपनि उनीहरुको लोकतन्त्रप्रति दृढ विश्वास नरहेको उनले बताए ।
उनले प्रतिगमनका बिरुद्ध उनीहरु लड्नेतिर भन्दा लिपापोती गर्नेतिर अग्रसर रहेको आरोप पनि लगाए । माओवादी कमजोर भएको मौका छोपेर प्रतिगमनकारीतिर मिल्नेसक्ने उनको भनाइ थियो ।
उनले जनयुद्ध लड्दै गर्दा प्रतिगमन आधा सच्चियो भनेर एमाले सरकारमा गएको होइन ? भन्दै प्रश्नसमेत गरे ।
तत्कालीन ज्ञानेन्द्र शाहको शासनका एमालेले प्रधानमन्त्रीका लागि निवेदन दिएको र सोही समयमा बेलामा काँग्रेसबाट वर्तमान सभापति शेरबहादुर देउवालाई असक्षम भनेर कारबाही गरिसकेपछि पुनः प्रधानमन्त्री बनाउँदा काँग्रेसले महाराजधिराजले बुद्धि पु¥याइबक्सियो भन्नेकुरा गरेको पनि उनले जिकिर गरे ।
सोही कारणले काँग्रेस र एमालेको भर परेर संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा हुन्छ भन्ने विश्वास नरहेको उनको भनाइ थियो ।
अध्यक्ष दाहालले लोकतन्त्रको रक्षा गर्ने जिम्मेवारी आफूहरुको काँधमा रहेको पनि बताए । आफूहरुको आलोचना अहिले चर्को रुपमा भइरहेको भन्दै आफूबिरुद्ध पूर्वपञ्चहरुले झुटो प्रचार गरिरहेको उनले बताए ।
माओवादीप्रतिको जनविश्वासले काँग्रेस र एमाले आत्तिएको पनि उनले बताए ।
अध्यक्ष दाहाल भन्छन् : ‘हाम्रो मुख्य लडाईं सरकारसँग हो, राजावादीहरुसँग होइन’
अध्यक्ष दाहालले क्रान्तिकारी माओवादी र जनताको र समाजवादी गणतन्त्रसम्म लैजान चाहनेको बीचमा ठूलो वैचारिक संघर्ष रहेको जिकिर गर्दै यसको फाइदा प्रतिगामीहरुले उठाइरहेको जिकिर गरे ।
उनले वैचारिक संघर्षको फाइदा उठाएर राजावादीहरुले राजतन्त्र फर्काउन सकिन्छ की भनेर प्रयास गरिरहेको बताए ।
राजावादीहरुसँग भन्दा पनि आफूहरुको मुख्य लडाईं अहिलेको यथास्थितिवादी, दलाल पुँजीपति वर्ग, नोकरशाही पुँजीपति वर्ग र विचौलियाहरुको गठबन्धनसँग रहेको अध्यक्ष दाहालको भनाइ छ ।
वर्तमान गठबन्धन जनताको हक हितका बिरुद्ध, सुशासनका बिरुद्ध, सामाजिक न्यायका बिरुद्धको भएको आरोप उनले लगाए । अध्यक्ष दाहालले अब माओवादी आफ्नै एजेण्डा, वर्ग, समुदायमा केन्द्रित हुने दाबी गरे ।
साथै उनले आगामी दिनमा माओवादीले एमाले र काँग्रेससँग समीकरण नगरी निर्वाचन लड्ने घोषणा गरेका छन् ।
प्रकाशित मिति २०८१ चैत २ गते आइतबार ०९:३०




