काठमाडौं ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फोटो जलाउँदैमा पक्राउ पर्नु उचित नहुने बताएका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘लोकतन्त्रमा विरोधका विभिन्न रूप हुन्छन् । फोटो जलाउँदैमा गिरफ्तार गर्नु उचित हुँदैन ।’
मकवानपुरको हेटौँडामा शनिबार अध्यक्ष प्रचण्डको फोटो जलाउने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्गठन केन्द्रीय समितिका सचिव निराजन बमलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई भरतपुर विमानस्थलबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
पूर्वप्रधानमन्त्रीको फोटो जलाउने कार्य गलत र आपराधिक क्रियाकलाप भएकाले पक्राउ गरेको प्रहरीले जनाएको छ । हेटौँडामा राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्गठन मकवानपुरको अधिवेशनको उद्घाटन कार्यक्रममा हिजो सङ्घीय सांसद दीपकबहादुर सिंहको उपस्थिति रहेको कार्यक्रममा बमले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको फोटो जलाएका थिए ।
बमलाई पक्राउ गरेको विरोधमा राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्गठनले विज्ञप्ति निकालेर सरकारले नागरिकको वैयक्तिक स्वतन्त्रतालाई अवरोध गरेको आरोप लगाएको छ ।
प्रकाशित मिति २०८१ चैत २ गते आइतबार ०५:३६




