पोखरा ।
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को तयारी पूरा भएको छ ।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, यही चैत ७ गतेदेखि देशभर एकैसाथ शुरु हुने एसईई परीक्षाको सबै तयारी पूरा भएको जनाएको हो ।
बोर्डले परीक्षाका लागि प्रश्नपत्र, सिम्बोल नम्बर, उत्तरपुस्तिका र अन्य सामग्री प्रत्येक जिल्लामा पुगिसकेको जनाएको छ ।
कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार गत वर्ष २०८० को एसइई परीक्षामा चार लाख ६४ हजार ७८५ परीक्षार्थी सहभागी थिए भने यो वर्षको परीक्षामा विद्यार्थीको संख्या ४९ हजार २८६ जना बढेर पाँच लाख १४ हजार ७१ जना परीक्षार्थी छन् ।
कार्यालयले यसवर्षको एसइई परीक्षाका लागि देशभर दुई हजार ७९ परीक्षा केन्द्र निर्धारण गरेको छ ।
परीक्षामा १५० जनासम्म परीक्षार्थी भएको केन्द्रमा एक जना सहायक केन्द्राध्यक्ष हुने छन् भने २० जना विद्यार्थी बराबर एक जना निरीक्षक खटिने छन् ।
परीक्षामा ७५ जनाभन्दा कम परीक्षार्थी भएको केन्द्रमा सहायक केन्द्राध्यक्ष नराखिने जनाइएको छ । यो पटकको एसइईमा बाल सुधार केन्द्र र कारागार गरी तीनवटा विद्यालय बाहिरका केन्द्र निर्धारण गरेको छ ।
परीक्षा नियन्त्रक पौडेलले काठमाडौँ र दैलेखका दुई कारागार तथा भक्तपुरको बाल सुधार गृहबाट विद्यार्थीलाई परीक्षा दिने व्यवस्था गरिएको जानकारी दिए ।
यो वर्षको एसइई चैत ७ गतेदेखि शुरु भएर १९ गते सम्पन्न हुने भएको छ । परीक्षा बिहान ८ बजेदेखि बिहान ११ बजेसम्म सञ्चालन हुनेछ ।
परीक्षा तालिकानुसार पहिलो दिन चैत ७ गते अनिवार्य अंग्रेजी विषय, सोही दिन संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत र मदरसातर्फ अनिवार्य अरबी भाषाको परीक्षा हुनेछ ।
चैत ८ गते अनिवार्य नेपाली विषय, गैरनेपाली विद्यार्थीहरूका लागि अंग्रेजी (इलेक्टिभ इङ्लिस) को परीक्षा हुनेछ ।
चैत १० गते अनिवार्य गणित र चैत १२ गते अनिवार्य विज्ञान तथा प्रविधि एवं संस्कृततर्फ शुक्लयजुर्वेद‚ सामवेद, अथर्ववेद, नीतिशास्त्रलगायत विषयको परीक्षा हुनेछ ।
१३ गते अनिवार्य सामाजिक, १४ गते ऐच्छिक प्रथम, १५ गते ऐच्छिक द्वितीयको परीक्षा सञ्चालन हुनेछ ।
यसवर्ष पनि लेटर ग्रेडिङ प्रणालीमै परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरिएको छ ।
प्रकाशित मिति २०८१ चैत ३ गते सोमबार ०९:५९




