पोखरा ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र युएनडिपीका एसिया तथा प्रशान्त क्षेत्रका उपक्षेत्रीय निर्देशक क्रिस्टोफ बहुयेट वीच भेटवार्ता भएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमवार भएको भेटमा मुख्यमन्त्री पाण्डेले सशक्तिकरणको क्षेत्रमा प्रदेश र स्थानीय तहलाई युएनडिपीले गर्दै आएको सहयोग प्रभावकारी रहेको बताए । युएनडिपीले दिगो विकास, फोहोरमैला व्यवस्थापन, नवप्रवर्तन, उद्यमशीलताको क्षेत्रमा गण्डकी प्रदेश भित्र गर्दै आएको सहयोगको मुख्यमन्त्री पाण्डले प्रशंसा गरे ।
उनले भने, ‘पूर्वाधार, स्वास्थ्य, शिक्षा, पर्यटन, कृषि, जलवायू परिर्वतनको लगायत प्रदेशको प्राथमिकताका क्षेत्रमा युएनडिपीसँग सहकार्य गर्न हामी तयार छौँ ।’ यि क्षेत्रमा सहकार्य गर्दा प्रदेश सरकारले लिएको नीति अनुसार युवा पलायन रोक्न, रोजगारी सिर्जना गर्न, बाँझो जमिनमा खेती बिस्तार गर्न र उद्यमशीलता प्रर्वद्धनमा सहयोग पुग्ने उनले उल्लेख गरे ।
प्रदेश सरकारले दोस्रो पञ्चवर्षिय योजनामा आफ्ना प्राथमिकताको क्षेत्र पहिचान गरेकाले सो क्षेत्रमा सहकार्य हुँदा प्रदेशवासीले ठुलो उपलब्धी हाँसिल गर्न सक्ने उनको भनाइ छ ।
युएनडिपीका उपक्षेत्रीय निर्देशक क्रिस्टोफ बहुयेटले गण्डकी प्रदेश सरकारसँगको भेट नेपालको पहिलो औपचारीक कार्यक्रम भएको बताए । उनले भने, ‘गण्डकी प्रदेश सरकारसँग भेटघाट र सहकार्य गर्न पाउँदा निकै खुसी लागेको छ ।’ पिएलजिएसपी कार्यक्रम अन्तर्गत कार्यान्वयन भएका कार्यक्रमको प्रभावकारीताका बारेमा पनि उनले चासो राखे ।
युएनडिपीको सहयोगमा गण्डकी प्रदेशमा प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम (पिएलजीएसपी) सञ्चालनमा छ । उक्त कार्यक्रमले स्थानीय तह र प्रदेशको क्षमता विकास, सशक्तिकरणको क्षेत्रमा सहयोग पुगेको मुख्यमन्त्री पाण्डेले जिकिर गरे । ‘संघीयता कार्यन्वयनपछि प्रदेश संरचना हाम्रो लागि नयाँ हो, कानुन निर्माण, आवधिक योजना, क्षमता विकास, लैङ्गिक सामाजिक समावेशिकरण, राजस्व सुधारका क्षेत्रमा यो परियोजनाको ठूलो सहयोग छ’ मुख्यमन्त्री पाण्डेले भने ‘सबैजसो स्थानीय तहमा यो परियोजना माग भएकाले कार्यक्षेत्र बिस्तार गर्न सक्दा अझै प्रभावकारी हुन्छ ।’
नेपालको पर्यटकीय राजधानी पोखरा र आसपासका जिल्लालाई इको टुरिजम, खेल टुरिजम, धार्मिक टुरिजमको रुपमा विकास गर्ने सरकारको योजनामा सहकार्य गर्न सकिने उनको भनाइ छ । युएनडिपीको सहकार्यमा सञ्चालन भईरहेको पिएलजिएसपी कार्यक्रमलाई थप प्रभावकारी बनाउने, नयाँ सहकार्यको क्षेत्र पहिचान गर्ने विषयमा छलफल भएको थियो ।
गण्डकी प्रदेश नीति योजना आयोगका उपाध्यक्ष डा.कृष्णचन्द्र देवकोटाले दोस्रो पञ्चवर्षिय योजनामा सरकारले लिएको रणनीतिका बारेमा जानकारी गराएका थिए ।
भेटघाटमा गण्डकी प्रदेश प्रमुख सचिव रघुराम विष्ट, युएनडिपीका नेपाल स्थित आवासिय प्रतिनिधि क्योको योकोसुका लगायत प्रतिनिधि मण्डल र मुख्यमन्त्री कार्यालयका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
प्रकाशित मिति २०८१ चैत ३ गते सोमबार ०५:५८




