२०८३ साउन २१ गते बिहीबार

नेपाली विद्यार्थी विश्वबजारमा प्रतिष्पर्धा गर्न सक्षम हुनेगरी विद्यालय शिक्षा विधेयक ल्याउनुपर्नेमा सांसदहरुको जोड

नेपाली विद्यार्थी विश्वबजारमा प्रतिष्पर्धा गर्न सक्षम हुनेगरी विद्यालय शिक्षा विधेयक ल्याउनुपर्नेमा सांसदहरुको जोड

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत ५ गते बुधबार १०:१५

बैठकमा बोल्ने अधिकांश सांसदहरुले समयसापेक्ष प्रविधियुक्त शिक्षा अहिलेको आवश्यकता रहेको उल्लेख गर्दै सोही अनुसारको विधेयक ल्याउनुपर्ने धारणा राखेका छन् ।

काठमाडौं ।

नेपाली विद्यार्थी विश्वव्यापी रुपमा प्रतिष्पर्धा गर्न सक्षम हुनेगरी विद्यालय शिक्षा विधेयक ल्याउनुपर्नेमा सांसदहरुले जोड दिएका छन् ।

मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विधेयकमाथिको छलफलमा भाग लिँदै उनीहरुले यस्तो बताएका हुन् ।

नेपाली भूवनोट र संस्कृतिलाई नैतिक शिक्षासहित प्रविधिसँग जोडेर विश्वमञ्चमा पहिचान दिने खालको शिक्षा पद्धति अवलम्वन गर्नुपर्ने उनीहरुको भनाइ छ ।

बैठकमा बोल्दै नेपाली काँग्रेसका सांसद चन्द्रकान्त भण्डारीले अबको शिक्षा प्रणाली इतिहास र प्रविधिलाई जोड्ने खालको हुनुपर्ने बताए ।

उनले नेपाली विद्यार्थीहरुले विश्वमञ्चमा पहिचान बनाउने र प्रतिस्पर्धा गर्नसक्ने गरी कानून निर्माण गर्नुपर्ने बताए । विधेयकको प्रश्तावना सोअनुसार नभएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे ।

उनले भनृ, ‘अहिले हामीले दिन खोजेको के हो भने नेपालको भूबनावट, नेपाली समाज, नेपाली संस्कृति र नेपालको इतिहास र रहनसहनलाई नैतिक शिक्षासहित अहिले प्रविधिसँग जोडेर विश्वमञ्चमा पहिचान दिने शिक्षा हामीले बनाउन खोजेको हो । यति धेरै विज्ञहरु र जानकाहरु हुनुुहुन्छ, तर यो के लेखेको ? यही ऐनको आधारमा हामीलाई कस्तो शिक्षक चाहिने हो ? कस्तो विद्यार्थि उत्पादन गर्ने ? हाम्रो शिक्षा नीति कस्तो हुन्छ ? लगायतका विषयहरु समावेश हुनुपर्छ । यही हो प्रश्तावना ?’

त्यस्तै नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले नेपालमा कक्षा १२ सम्म पढेका विद्यार्थीहरु अन्तर्राष्ट्रियस्तरको जनशक्ति बन्ने विधेयकको लक्ष्य हुनुपर्ने बताए ।

उनले नेपाली विद्यार्थीहरुले उच्च शिक्षा अध्ययनका लागि छिमेकी देशका विश्वविद्यालयहरुमा जाँदा योग्य हुने किसिमको शिक्षा नीति अवलम्वन गर्नुपर्ने जिकिर गरे ।

विद्यालय शिक्षा विधेयक विद्यार्थी केन्द्रित भएको उल्लेख गर्दै विद्यार्थीहरुलाई योग्य र विश्वबजारमा प्रतिष्पर्धा गर्नसक्ने गरी ऐन निर्माण गर्नुपर्नेमा उनको जोड छ ।

त्यस्तै नेकपा (एमाले)की सांसद दीपा शर्माले लामो समयसम्म विद्यालय शिक्षासम्बन्धी कानून नबन्दा संविधानमा उल्लेख गरिएको मौलिक हकको कार्यान्वयन हुन नसकेको बताए ।

उनले संविधानले उल्लेखित मौलिक हकको कार्यान्वयनको लागि आवश्यक कानून बनाउन भनेको भएपनि त्यस्तो हुन नसकेको तर्क गरे ।

संविधानले विद्यालय शिक्षा निःशुल्क भनेपनि विधेयकमा आधारभुत शिक्षामात्रै भन्दा कानून र संविधान बाँझिने उनको भनाइ थियो ।

विद्यार्थी विश्वव्यापी रुपमा प्रतिष्पर्धा गर्नको लागि उत्प्रेरित गर्ने खालको शिक्षा प्रणाली लागुगर्ने गरी ऐन बनाउन जरुरी रहेको उनले जिकिर गरे ।

बैठकमा बोल्ने अधिकांश सांसदहरुले समयसापेक्ष प्रविधियुक्त शिक्षा अहिलेको आवश्यकता रहेको उल्लेख गर्दै सोही अनुसारको विधेयक ल्याउनुपर्ने धारणा राखेका छन् ।

प्रकाशित मिति २०८१ चैत ५ गते बुधबार १०:१५
हजुरको प्रतिक्रिया