काठमाडौं ।
सत्तारुढ दल नेपाली काँग्रेसले बाहिरबाट परिवर्तन आउने कुरा सम्भव नरहेको बताएको छ ।
आईतबार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको केन्द्रिय कार्य सम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले भारततिर संकेत गर्दै बाहिरबाट परिवर्तन आउने कुरा सम्भव नरहेको बताएका हुन् ।
भारतले राजावादीहरुलाई उक्साएर अहिले प्रदर्शन भइरहेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भारतलाई देखाइदिने भन्नुभएको छ नि भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले नेपालको विषय नेपाली जनताबाट निर्णय हुने बताए ।
फागुन ७ गतेपछि राजावादीहरुले राजतन्त्रको माग गर्दै आन्दोलन गर्दै आएका छन् ।
देशमा शान्ति चाहिएको र अब राजतन्त्र पुनः स्थापना गर्ने बेला भएको र आफूलाई सहयोग गर्न भन्दै फागुन ७ गते प्रजातन्त्र दिवसको दिन पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको अभिव्यक्तिपछि राजावादीहरुले दिनदिनै प्रदर्शन गरिरहेका छन् ।
फागुन २५ गते पोखराबाट पूर्वराजा शाह काठमाडौं आउँदा देखिएको जनलहरपछि राजनीतिक वृत्त तरंगित छ ।
उनले नेपाली जनताले निर्णय गरिसकेको पनि बताए । सरकारले संविधान संशोधन लगायतका कतिपय विषयहरु उठाएकाले त्यस विषयमा काँग्रेसले आगामी दिनमा निर्णय गर्दै जाने उनले जिकिर गरे ।
उनले भने, ‘नेपालको विषय हामी नेपाली जनताले निर्णय गर्ने हो । निर्णय गरिसकेको छ । नेपाली जनताले निर्णय गरिसकेको छ । नेपाली जनताले अब आवधिक रुपमा निर्वाचन गर्ने पद्धति छ । निर्वाचित सांसदहरु आउँछन् । जे गर्नुपर्ने हो, निर्णय हुन्छ । हामीले कतिपय विषयवस्तु संविधान संशोधनको विषय पनि सरकारले कुरा गरेको छ । भोलिको दिनमा कुन कुन विषयमा संविधान संशोधन गर्नुपर्छ, त्यस विषयमा हामी कुरा गर्नेछौँ । बाहिरबाट परिवर्तन आउने भनेको सम्भव छैन ।’
काँग्रेस संविधानप्रति पूर्ण प्रतिवद्ध रहेको पनि उनको प्रष्टोक्ति छ ।
प्रकाशित मिति २०८१ चैत १० गते सोमबार ०८:४९




