काठमाडौं ।
प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको कुलपति प्रधानमन्त्री र सहकुलपति शिक्षामन्त्री रहने प्रश्ताव बहुमतले पारित गरेको छ ।
आईतबार सिंहदरबारमा बैठकमा शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकमाथिको छलफलमा उक्त व्यवस्थासहित विधेयकको दफा २१ लाई बहुमतले पारित गरेको हो ।
विधेयकमा विश्वविद्यालयको सभाको सभाध्यक्ष सहकुलपतिको रुपमा शिक्षामन्त्रीले गर्ने प्रश्ताव गरिएको छ । बैठकले विश्वविद्यालयको उपकुलपतिसहितका पदाधिकारीको नियुक्ति भने खुला प्रतिष्पर्धाबाट गर्ने सहमति गरेको छ ।
प्रतिपक्षी दलका सांसदहरुले विश्वविद्यालयको कुलपति समेत खुला प्रतिष्पर्धाको माध्यमबाट प्राज्ञिक व्यक्तिलाई राख्नुपर्ने धारणा राखेका थिए । एक जना प्रधानमन्त्रीले मात्र धेरै विश्वविद्यालयहरु हेर्न नसक्ने उनीहरुको तर्क थियो ।
तर शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईलले प्रधानमन्त्रीलाई नै कुलपति बनाउने विषयमा मन्त्रालयको मस्यौदा र राष्ट्रिय सभाको म्याण्डेडलाई अपनत्व गर्नुपर्ने बताइन् ।
उनले कुलपतिमा प्रधानमन्त्रीलाई नै निरन्तरता दिने कुरामा सर्वसहमति गर्न आग्रह गरिन् ।
उनले भनिन्, ‘प्रधानमन्त्री कुलपति रहने कुरामा माननीयज्युहरुले राखेका धारणाहरुको सम्मान गर्दै सर्वसहमतिको हिसावले संसदीय समितिले काम गरिरहेको जुन अभ्यास छ त्यसअनुसार प्रधानमन्त्रीलाई निरन्तरता दिउँ भन्ने सद्भावका साथका जुन कुरा आएको छ म यसलाई सम्मान गनै चाहन्छु । प्रधानमन्त्रीलाई नै कुलपति राख्ने गरी जाउँ भन्ने माननीयज्यूको धारणालाई नै मन्त्रालयको मस्यौदा, राष्ट्रिय सभाको म्याण्डेडलाई नै अपनत्व गरेर जाने कि भन्ने कुरा मन्त्रालयका तर्फबाट अनुरोध गर्न चाहन्छु ।’
प्रमुख प्रतिपक्षी दलका सांसद देवेन्द्र पौडेलले दलीय प्रणालीमा स्थिर सरकार हुन नसक्ने भन्दै प्राज्ञिक व्यक्तिलाई कुलपति बनाउनुपर्ने धारणा राखे । उनले भारतको केरलाको उदाहरण दिँदै कुलपति प्रधानमन्त्री नभए पनि विश्वविद्यालयहरुलाई राम्रोसँग संचालन गर्न सकिने बताए ।
पढेलेखेको योग्य व्यक्तिले विश्वविद्यालयको नेतृत्व गर्ने कुरा सकारात्मक भएकोले सहमति गर्नुपर्ने उनको धारणा थियो । नेपाली काँग्रेसका सांसद चन्द्रकान्त भण्डारीले उपकुलपति सहितका पदाधिकारीहरुको नियुक्ति वैज्ञानिक प्रतिष्पर्धाका आधारमा गरिनुपर्ने बताए ।
लोकसेवाको आफ्नै पाठ्यक्रम र परिक्षा प्रणाली भएकोले विश्वविद्यालयको पदाधिकारी नियुक्त त्यसरि गर्न नहुने धारणा उनको छ । उनले कुलपति समेत प्रधानमन्त्री रहने व्यवस्था ठिक नभएपनि बाध्यताले सहमति गर्नुपरेको उल्लेख गरे ।
कुलपतिको विषयमा प्रधानमन्त्रीसँग स्वयं कुरा गर्ने उनको भनाइ छ । शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक राष्ट्रिय सभाबाट पारित भएर शिक्षा समितिमा आएको हो ।
सरकारले कैलालीको गेटामा रहेको गेटा मेडिकल कलेजको संरचनामा दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने तयारी गरेको छ ।
प्रकाशित मिति २०८१ चैत १० गते सोमबार ०८:५४




