राष्ट्रिय सभाको बैठक स्थगित भएको छ ।
शुक्रवार राष्ट्रिय सभा बैठकको कारबाही शुरु गर्न खोज्दा विपक्षी दलहरुले अवरोध गरेपछि अध्यक्ष नारायणप्रसाद दाहालले बैठक एक घण्टापछि बस्ने गरी स्थगित गरेका हुन् ।
विपक्षीहरु उठेर विरोध जनाएपछि अध्यक्ष दाहालले विपक्षीको तर्फबाट राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्मालाई बोल्न समय दिए।
सांसद विश्वकर्माले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई सरकारले पदमुक्त गरेको विषयमा विपक्षीले प्रधानमन्त्रीको जवाफ माग गरेको तर प्रधानमन्त्री सदनप्रति जवाफदेही नभएको भन्दै सदन स्थगित गर्न माग गरे ।
अध्यक्ष दाहालले राष्ट्रिय सभाको गरिमा बचाउन पनि आसन ग्रहण गरेर सहयोग गर्न आग्रह गरे । राजनीतिक दलहरु आफै सक्रिय भएर समस्याको समाधान गर्नुपर्नेमा उनले जोड दिए ।
अध्यक्ष दाहालले पटक–पटक आशन ग्रहण गरेर बैठक सुचारु गर्न आग्रह गरेपनि विपक्षी सांसदहरुले अवरोध कायमै राखेपछि उनले बैठक एक घण्टाका लागि स्थगित भएको घोषणा गरे ।
प्रकाशित मिति २०८१ चैत १४ गते शुक्रबार ०२:०३