संसद अवरोध खुलाउन प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको १८ गतेको बैठकमा सम्बोधन गर्ने भएका छन् ।
शुक्रवार सभमुख देवराज घिमिरेसहित बसेको पमुख प्रतिपक्ष, प्रष्पिक्ष दल र सत्तापक्षीय दलका प्रमुख सचेतकहरु बीचको छलफलबाट यो सहमति जुटेको हो ।
सोमवार बसेको मन्त्रीपरिषद्को बैठकले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट बदर्खास्त गरेको थियो ।
बर्खास्तीसँगै प्रतिपक्ष दलहरुले सदनमा अवरोध सिर्जना गर्दै संसद अवरुद्ध पारेका छन् । उनीहरुले यस विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले चित्तबुझ्दो जवाफ दिनुभएपछि मात्रै सदनको अवरोध हटाउने बताएका छन् ।
सरकार पक्षले भने सम्बन्धित मन्त्री र उपप्रधानमन्त्रीले सरकारको तर्फबाट उक्त विषयमा जवाफ दिने प्रश्ताव गरेको थियो । तर प्रतिपक्ष दलहरुले प्रधानमन्त्रीले जवाफ दिनुपर्ने भन्दै संसद अवरुद्ध पार्दै आएका छन् ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बैठकमा १८ गते बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीले जवाफ दिने र आईतवार बस्ने बैठक सहज रुपमा अघि बढ्ने सहमति भएको बताए ।
उनले प्रतिपक्षी दलहरुको माग बमोजिम नै प्रधानमन्त्री ओलीले जवाफ दिनुहुने सहमति गर्दा समेत आजको बैठक बस्नबाट प्रतिपक्ष दलहरुले आनाकानी गरेको बताए ।
उनले भने, ‘प्रमुख प्रतिपक्षले संसदमा लगातार नेपाल सरकारले गरेको एउटा निर्णय विद्युत प्राधिकरणको एमडीका बारेमा गरेको निर्णयसँग सम्बन्धित गरेर तीन दिनदेखि हाउस अवरुद्ध गरिरहेको अवस्था छ । हामीले यो हाउस खुलाउन लगातार प्रयत्न पनि गरिरहेका छौँ । हाउस खुलाउन १३ गतेदेखि नै लागिरहेका छौँ । उहाँहरुले प्रधानमन्त्रीको जवाफ माग्नुभयो । विभागीय मन्त्रीले जवाफ दिनुहुन्छ, भनेर आग्रह ग¥यौँ । मान्नुभएन । उपप्रधानमन्त्रीको तहबाट यो विषय राख्नुहुनेछ । भन्यौँ, मान्नुभएन । आजसम्म हाउस अवरुद्ध भयो । आज पनि विभिन्न छलफल ग¥यौँ । आज हामीले एउटा निर्णय गरेका छौँ । सम्माननीय प्रधानमन्त्रीज्युले मेजर अपोजिसनले माग गर्नुभयो । एउटा विषय त्यो पनि रह्यो । सँगै अन्य कतिपय विषयहरुमा पनि सम्बोधन गर्नुपर्ने आवश्यकता छ । प्रमुख प्रतिपक्षले उठाएका विषयवस्तुलाई पनि ख्याल पु¥याएर सम्माननीय प्रधानमन्त्रीज्युले आगामी १८ गतेको बैठकमा संसदको आगामी १८ गतेको बैठकमा सम्बोधन गर्ने भन्ने भएको छ । यो विषय राख्यौँ, सत्तापक्षको तर्फबाट । प्रधानमन्त्रीले बोल्ने विषय १८ गते बोल्नुहुन्छ । आजबाट हाउस अघि बढाऔँ भनेर प्रमुख प्रतिपक्षलाई आग्रह ग¥यौँ । राष्ट्रिय सभामा रहेका ५ वटा प्रतिष्थापन विधेयक १७ गते बेलुकासम्म निस्कर्षमा पु¥याउनुपर्नेछ । यि सबै कुरा आग्रह ग¥यौँ । उहाँहरुको माग बमोजिम अघि बढ्ने भन्दा पनि आजको हाउस चलाउने र सहज ढंगले अघि बढ्ने कुरामा सकारात्मक परिस्थिति भएन । आईतवारबाट बैठक सहज रुपमा सञ्चालन हुनेछ ।’
उनले सरकारले ल्याएका प्रतिष्थापन विधेयकहरु १७ गते रातिसम्म प्रक्रिया पूरा गरेर अघि बढाउनुपर्ने भएपनि प्रतिपक्ष दलहरुको अवरोधका कारण अहिलेसम्म अड्किएको बताए ।
प्रकाशित मिति २०८१ चैत १४ गते शुक्रबार ०३:५६




