एक हप्ताका लागि राष्ट्रिय शोकको घोषणा
एजेन्सी ।
म्यानमारमा गत शुक्रबार गएको विनाशकारी भूकम्पका कारण ज्यान गुमाउनेको संख्या दुई हजार ५६ पुगेको छ ।
भूकम्पमा परि तीन हजार ९ सयभन्दा धेरै घाइते भएका छन् भने अझै दुई सय ७० जना हराइरहेका छन् । हराइरहेकाहरुको खोजी कार्य जारी रहेकाले मृतकको संख्या अझै बढ्ने अनुमान गरिएको छ ।
यसैबीच म्यानमारको सत्तारूढ सैन्य सरकारले देशमा एक हप्ताका लागि राष्ट्रिय शोक घोषणा गरेको छ । म्यानमारमा आउँदो अप्रिल ६ सम्म राष्ट्रिय शोक घोषणा गरिएको र यस अवधिमा झण्डा आधा झुकाइने छ ।
गएको शुक्रवार म्यानमारमा गएको ७ दशमलव ७ म्याग्निच्युडको भूकम्पमा पूर्व प्राथमिक विद्यालयको भवन भत्किँदा १२ जना बालबालिका र केही शिक्षकशिक्षिकाको ज्यान गएको विद्यालयले पुष्टि गरेको छ ।
यता विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) की मार्गरेट ह्यारिसले म्यानमारका अस्पतालहरू घाइतेहरूले भरिएका र भूकम्पले धेरै अस्पतालहरू क्षतिग्रस्त भएका बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुमा उल्लेख छ ।
म्यानमारको सैन्य सरकारमाथि केही क्षेत्रमा अन्तर्राष्ट्रिय सहायता अवरुद्ध गरेको आरोप लागेकाले ऊसँग काम गर्नु अर्काे चुनौती रहेको विश्व स्वास्थ्य संगठनको भनाइ छ ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले आपतकालीन सहायता घोषणा गर्दै आउँदो ३० दिनभित्र आठ लाख अमेरिकी डलर सहयोग आवश्यक पर्ने बताएको छ ।
रेडक्रसले पनि सय मिलियन डलरभन्दा बढी सहयोगको अपिल गरेको छ ।
प्रकाशित मिति २०८१ चैत १८ गते मंगलबार ०८:५०




