काठमाडौं ।
संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने गरि बोलाइएको छ ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय समावेशी आयोगको छैटौं वार्षिक प्रतिवेदन २०८०÷२०८१ पेश गर्नेछन् ।
यस्तै उनले मुस्लिम आयोगको छैठौं वार्षिक प्रतिवेदन (२०८० श्रावण २०८१ आषाढ) पेश गर्नुहुने कार्यसूची रहेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् भने नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
त्यस्तै बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैंकिङ्ग कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदन सहितको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछिन् भने शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले पूर्वाधार विकास समितिको प्रतिवेदन सहितको जलस्रोत विधेयक, २०८१ माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुका साथै जलस्रोत विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।
प्रकाशित मिति २०८१ चैत १८ गते मंगलबार ०९:२१




