२०८३ असोज २६ गते सोमबार

बिमस्टेक राष्ट्रहरुमा आकस्मिक घटनामा काम गर्न विशेष संरचना बनाउन आवश्यकः परराष्ट्रमन्त्री राणा

बिमस्टेक राष्ट्रहरुमा आकस्मिक घटनामा काम गर्न विशेष संरचना बनाउन आवश्यकः परराष्ट्रमन्त्री राणा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत २० गते बिहीबार ०९:४१

मन्त्री डा. राणाले आफूले बिमस्टेकलाई एक बलियो साझेदारी मञ्चका रुपमा रूपान्तरण गर्नसक्ने आधारहरु देखेको र यसका लगि सबैभन्दा पहिला क्षेत्रीय एकता र सामूहिक सहकार्यको भावना हुनुपर्नेमा जोड दिइन् ।

एजेन्सी ।

परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले बिमस्टेक राष्ट्रहरुमा आकस्मिक घटनामा काम गर्न विशेष संरचना बनाउन आवश्यक रहेको बताएकी छिन् ।

थाइल्याण्डको राजधानी बैंककमा आयोजित छैठौँ बिमस्टेक समिटको पूर्वसन्ध्यामा हिजो इण्डिया फाउन्डेसनद्वारा आयोजित तेस्रो बिमस्टेक डायलगलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

दक्षिण एशिया क्षेत्रमा बढिरहेको जोखिमलाई हेरेर आकस्मिक घटनामा तत्काल काम गर्नसक्ने विशेष संरचना बनाउन आवश्यक रहेको उनले बताइन् ।

गत मनसुनमा नेपाल—भारतमा आएको बाढी, पहिरो, केही दिनअघि म्यानमार र थाइल्याण्डमा आएको भूकम्प, बंगलादेशमा आएको बाढी जस्ता धेरै विपद् र आकस्मिक घटनामा संयुक्त पहल गर्नसके जोखिम र क्षति कम गर्न सकिने धारणा उनले व्यक्त गरिन् ।

संयुक्त प्रयासले आपसी भाइचारा र सहयोगको बाटो औपचारिक रुपमा खुल्ने उनको भनाइ थियो । उनले बिमस्टेक जनताका आशा, अपेक्षा र समस्यामा काम गर्नसक्ने एक जीवन्त क्षेत्रीय संगठनका रुपमा रहनुपर्नेमा जोड दिईन् ।

अहिलेका कुनैपनि क्षेत्रीय र विश्व संस्थाहरुले आफ्ना समस्याहरुको पहिचान गरी तिनको समाधानका लागि सामुहिक प्रयास गर्न सक्नुपर्ने उनले उल्लेख गरिन् ।

मन्त्री डा. राणाले आफूले बिमस्टेकलाई एक बलियो साझेदारी मञ्चका रुपमा रूपान्तरण गर्नसक्ने आधारहरु देखेको र यसका लगि सबैभन्दा पहिला क्षेत्रीय एकता र सामूहिक सहकार्यको भावना हुनुपर्नेमा जोड दिइन् ।

क्षेत्रीय शान्ति र एकताका लागि बिमस्टेकको प्रमुख भुमिकालाई नेपालले सदा स्वीकार गरेको बताउँदै उनले यस क्षेत्रको सामूहिक समृद्धिका लागि बिमस्टेकको सिद्धान्त र उद्देश्यप्रति नेपाल प्रतिवद्ध रहेको उल्लेख गरिन् ।

मन्त्री डा. राणाले बंगालको खाडी क्षेत्र र त्यसभन्दा बाहिर समेतको क्षेत्रीय शान्ति, एकता र वातावरणीय दिगोपना प्रवद्र्धनमा बिमस्टेकको भुमिका खेलेको बताइन् ।

सदस्य राष्ट्रहरुबीचको सामूहिक सहकार्य र जनता–जनताबीचको सम्पर्कका माध्यमबाट संस्कृति र पर्यटनको प्रवद्र्धन, गरिबी निवारण, जलवायुजन्य जटिलताको समाधानका लागि बिमस्टेक राष्ट्रहरूबीच अर्थपूर्ण सहकार्य हुनुपर्ने पक्षमा नेपाल रहेको पनि उनले स्पष्ट पारिन् ।

बिमस्टेक भित्रको क्षेत्रीयताको प्रमुख उत्प्रेरक भनेको यस क्षेत्रको अर्थतन्त्र, स्रोतसाधन, संस्कृति, समाज र जनताबीचको सम्बन्धलाई प्रगाढ बनाउनु रहेको बताउँदै उनले प्रशस्त प्राकृतिक स्रोतसाधन र युवा जनसंख्या भएपनि बिमस्टेक त्यस रुपमा अझै अघि बढ्न नसकेको बताए ।

मन्त्री डा. राणाले भने, ‘अहिलेका कुनैपनि क्षेत्रीय र विश्व संस्थाहरुले आफ्ना समस्याहरुको पहिचान गरी तिनको समाधानका लागि सामुहिक प्रयास गर्न सक्नुपर्छ । जनताका समस्या एकातिर अनि उद्देश्य र प्रयास अर्कातिर भयो भने त्यस्ता संगठनहरु जीवन्त र जनताको भरोसा बन्न सक्दैनन् ।जस्तो कि हामीले यस क्षेत्रमा सहकार्य गर्दैछौँ भने सबैभन्दा पहिला त हामीले यहाँका आमा तथा बालबालिकाको रुग्ण स्वास्थ्य अवस्था, आमा तथा शिशु मृत्युको अवस्था, शासनका हरेक मोडलमा महिलाको उपस्थिति र महिला नेतृत्वको अवस्था, सामाजिक पछ्यौटेपन, जलवायु परिवर्तनले हामीलाई दिनप्रतिदिन थपिरहेको चुनौती आदिजस्ता विषयमा पहिला हेरौँ र तिनको समाधानमा लागौँ ।’

मन्त्री डा. राणाले मानव संसाधन विकास, नवप्रवर्तन र प्रविधि हस्तान्तरणलाई प्राथमिकतामा राखेर ठूलो जनसंख्याको आवादीका रुपमा रहेको यस क्षेत्रले युवा र गतिशील जनसंख्याबाट लाभ लिनसक्नुपर्ने बताईन् ।

क्षेत्रीय चुनौतिको सामना गर्न हाल विकसित एआइले ल्याएकोे नवीन प्रविधिहरूको प्रयोग र आदानप्रदानमा सहकार्य गर्नुपर्नेमा पनि उनको जोड थियो ।

बिमस्टेक फ्रेमवर्कभित्र स्वतन्त्र व्यापार क्षेत्र, कनेक्टिभिटी, बिमस्टेक गुरुयोजना, बौद्ध सर्किट, मन्दिर सर्किट, इको–टुरिजम सर्किट र अन्य पहलहरूलाई समेत समेटेर विकासका क्षेत्रमा अघि बढ्नुपर्ने पनि उनले सुझाइन् ।

 

प्रकाशित मिति २०८१ चैत २० गते बिहीबार ०९:४१
हजुरको प्रतिक्रिया