काठमाडौं ।
नेपाल बार एसोसिएसनको निर्वाचनअन्तर्गत मतगणना भोली सोमबार मात्रै शुरु हुने भएको छ ।
जुम्लाबाट मतपेटिका आइपुग्न समय लाग्ने भएकाले मतगणनामा ढिलाइ भएको प्रमुख निर्वाचन अधिकृत रामकृष्ण निरलाले जानकारी दिए ।
आज मतपेटिका संकलन गर्न समय लाग्ने भएकोले सोमबार मात्रै मतगणना शुरु हुने भएको उनले बताए ।
सबै मतपेटिका आइतबार साँझसम्म संकलन भए सोमबार बिहान ८ बजेदेखि मतगणना गरिने निरलाले जानकारी दिए ।
बार एसोसियसनको २७ औँ केन्द्रीय कार्यसमितिको चयनका लागि शनिबार मतदान भएको हो ।
काठमाडौँ र बाहिर गरी ३६ वटा केन्द्रमा भएको थियो । बुथ संकलनपछि काठमाडौँस्थित बारको कार्यालयमै मतगणना गरिनेछ ।
नयाँ नेतृत्वका लागि अध्यक्षमा बृहत् लोकतान्त्रिक, प्रगतिशली, पेसागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता प्राडा विजयप्रसाद मिश्र र व्यावसायिक कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठ प्रतिस्पर्धामा छन् ।
महासचिवमा वरिष्ठ अधिवक्ता मिश्रको समूहबाट वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइराला र वरिष्ठ अविधक्ता श्रेष्ठको समूहबाट अधिवक्ता यज्ञमणि न्यौपानेको उम्मेदवारी रहेको छ । २५ जनाको लागि ५७ जना प्रतिस्पर्धामा छन् ।
प्रकाशित मिति २०८१ चैत २३ गते आइतबार ०९:५९




