नयाँ शैक्षिक सत्र सुरु नहुँदै पुस्तक वितरण गर्न थालिएको छ ।
नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घले जनक शिक्षा सामग्री लिमिटेडको पोखरा बिक्री केन्द्रबाट पुस्तक ल्याएर विद्यालयलाई वितरण गर्न थालेको हो । महासङ्घका जिल्ला अध्यक्ष नारायण शर्माले बेनीमा बिक्री कक्ष स्थापना गरेर बिहीबारदेखि विद्यालयमा पुस्तक पठाउन थालेको जानकारी दिए ।
म्याग्दीका सामुदायिक विद्यालयलाई आवश्यक पर्ने १५ हजार सेट पुस्तक ल्याएर दुर्गमका विद्यालयलाई प्राथमिकता दिएर वितरण गर्न थालिएको छ । नयाँ शैक्षिक सत्रमा भर्नासँगै विद्यार्थीको हात–हातमा पुस्तक पुग्ने व्यवस्था मिलाइएको छ ।
म्याग्दीका २८ जना पुस्तक व्यवसायीले बेनीमा संयुक्त रुपमा पुस्तक बिक्री कक्ष स्थापना गरेका छन् । यस वर्ष म्याग्दीमा एक करोड रुपैयाँ मूल्य बराबरको पुस्तक भित्रिएको छ ।
शिक्षा विकास तथा समन्वय एकाइ र स्थानीय तहका शिक्षा शाखाको तथ्याङ्कका आधारमा प्रतिकक्षा एक हजार २०० रुपैयाँ सेटका दरले पुस्तक आयात गरिएको छ ।
शैक्षिक सत्र सकिँदासम्म पनि विद्यार्थीले पुस्तक नपाउने समस्या पछिल्लो दुई वर्षयता हटेको छ ।
समयमै पुस्तक खरिद र वितरणको व्यवस्था मिलाउन विद्यालयको खातामा फागुन महिनामै पुस्तकको रकम निकासा गरिएको छ ।
प्रकाशित मिति २०८१ चैत २३ गते आइतबार १२:२०




