२०८३ साउन २१ गते बिहीबार

वर्तमान सत्ता समीकरण आगामी निर्वाचनसम्म जान्छ, निर्वाचनपछि परिस्थिति हेरेर विचार गरौँलाः प्रधानमन्त्री

वर्तमान सत्ता समीकरण आगामी निर्वाचनसम्म जान्छ, निर्वाचनपछि परिस्थिति हेरेर विचार गरौँलाः प्रधानमन्त्री

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत २५ गते मंगलबार ०७:५३

प्रधानमन्त्री ओलीले मधेस प्रदेशको विकासका लागि संघीय सरकार सँगै काम गर्न तयार रहेको बताए ।

काटमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सत्ता समीकरणलाई कसैले हल्लाउन नसक्ने दाबी गरेका छन् ।

मंगलवार मधेस प्रदेश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो दाबी गरेका हुन् । उनले नेपाली काँग्रेस—नेकपा एमाले मिलेर बनेको वर्तमान सरकार बन्न नदिन धेरै चलखेल भएपनि यो सरकार देशका समस्या समाधान गरेर देशलाई अगाडि बढाउनका लागि बनेको जिकिर गरे ।

उनले अस्थिरता र दाउपेचको स्थिति वर्तमान सरकारले अन्त्य गरेको बताए । प्रधानमन्त्री ओलीले सरकार ढलिहाल्छ भन्दै टिप्पणी गर्नेहरु पनि थाकेको उल्लेख गरे । वर्तमान सत्ता समीकरण आगामी निर्वाचनसम्म अघि बढ्ने र निर्वाचनपछि पनि निर्वाचनको परिणाम हेरेर विचार गर्ने उनले जिकिर गरे ।

उनले भने, ‘समस्या समाधान गरेर देशलाई अगाडि बढाउनका लागि यो समीकरण बनाइएको हो । दिनैपिच्छे सरकार फेरिन्छ की, फेरिन्छ की भनेर जुन खालको अस्थिरताको स्थिति थियो, दाउपेचको स्थिति थियो, त्यसलाई अन्त्य गर्नको लागि यो समीकरण बनाइएको हो । केही मान्छेहरुलाई सौख जस्तो थियो, तिनीहरु पनि थाके अब । यो सरकार बन्नै नदिन कोशिस गरिरहेका थिए, बन्दैन भन्दै थिए, विश्वासको मत प्राप्त गर्दैन भन्दै थिए, झन्डै दुई तिहाई त नेकपा एमाले र नेपाली काँग्रेससँग मात्रै छ । बहुमतको कुनै कमी छैन । दुई वटा पार्टीले संकल्प गरेका छन् । हामी चुनावसम्म सँगै जान्छौँ । चुनावलाई स्वतन्त्र, निष्पक्ष, धाँदलीरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउँछौँ । त्यसपछिको परिस्थिति कस्तो बन्छ, विचार गरौँला । अहिले स्थिरता, स्थायित्व, सुशासन र विकासका लागि दुई वटा पार्टी मिलेर सरकार बनाएका छौँ । यो सरकार ढल्ने त कुरा छोडिदिनुस्, हल्लिँदा पनि हल्लिँदैन ।’

प्रधानमन्त्री ओलीले मधेस प्रदेशको विकासका लागि संघीय सरकार सँगै काम गर्न तयार रहेको बताए ।

प्रकाशित मिति २०८१ चैत २५ गते मंगलबार ०७:५३

हजुरको प्रतिक्रिया