पोखरा ।
लामो समयसम्म पानी नपरेर खरेडी पर्दा देशका अधिकांश जंगलमा यतिबेला डढेलो लागिरहेको छ ।
हावाहुरीको मौसम शुरु भएसँगै वर्षेनि वन क्षेत्रमा लाग्ने डढेलोले ठूलो मात्रामा वनको क्षति हुने गरेको छ
चैत शुरु भएसँगै सुक्खायाम बढ्ने र जेठसम्म प्रत्येक वर्ष वन–जंगलमा डढेलोका घटना बढ्ने गरेका छन् ।
यसैबीच हिजो एकैदिन देशका ५२ ठाउँमा डढेलो लागेको छ । पछिल्ला हप्ताहरुमा डढेलो तीव्र रुपमा फैलिरहेको छ ।
वन तथा भूसंरक्षण विभागको डढेलो पहिचान तथा अनुगमन प्रणालीका अनुसार अप्रिल महिना शुरू भएयताको एक हप्तामा मात्रै देशका ६२ जिल्लाका ८ सय ८५ ठाउँमा डढेलो लागेको छ ।
सन् २०२४ नेपालमा धेरै डढेलो लाग्ने वर्ष बनेको थियो । तर यो वर्ष त्यो भन्दा पनि बढेको छ ।
गएको वर्ष जनवरी १ तारिखदेखि अप्रिल ७ तारिखसम्म एक हजार ४० ठाउँमा डढेलो लागेकोमा यो वर्ष त्यही अवधिमा एक हजार आठ सय ४२ ठाउँमा डढेलो लागेको छ ।
यसले गएको वर्षका तुलनामा यस वर्ष ७७ प्रतिशत बढी ठाउँमा डढेलो लागेको देखाउँछ ।
सामान्यतया धेरै डढेलो लागेको अर्को वर्ष वनमा इन्धन कम हुने भएकोले डढेलो कम लाग्नुपर्नेमा हरेक वर्ष बढ्नु चिन्ताजनक अवस्था रहेको डढेलो विज्ञ कृष्ण भुजेल बताउछन् ।
यस वर्ष पनि हिउँद सुक्खा भएको र प्रिमनसुन अवधिमा पनि पानी नपर्दा सुक्खा बढेर डढेलो बढ्न मद्दत पुगेको वन तथा भूसंरक्षण विभागका उपमहानिर्देशक धनन्जय लामिछानेले बताए ।
बसाइँ–सराइ तथा जग्गा बाँझो हुने क्रमले गर्दा वनमा सुकेका काठपात थुप्रने क्रम बढेको छ । इन्धन बढी हुँदा डढेलो फैलने क्रम बढेको छ । यस्तै मिचाहा प्रजातिका वनस्पतीको फैलावटले पनि डढेलो बढाउन भूमिका खेलेको छ ।
नेपालमा हुने डढेलोको ९७ प्रतिशत भन्दा धेरै मानवीय कारणबाट हुने गरेको छ । डढेलोले हावामा प्रदूषण बढाएर निसासिने अवस्था आएको छ भने जंगलमा जैविक विविधता पनि नष्ट भइरहेको छ ।
साथै अधिकांश वन क्षेत्रका वयस्क, पुराना रुख र नयाँ बिरुवा डढेर खरानी बनेका छन् ।
प्रकाशित मिति २०८१ चैत २६ गते बुधबार ०९:२९




