बागलुङ ।
बागलुङ सेवा समाज दोहा कतारले एक करोड रुपैयाँको अक्षकोष स्थापना गर्ने भएको छ ।
आगामी वैशाख ५ गते दोहामा भव्य कार्यक्रमको आयोजना गरि अक्षकोषको घोषणा गरिने भएको हो । मंगलबार बागलुङमा अक्षकोषका बारेमा पत्रकार सम्मेलन गरि समाजका संरक्षक होमनाथ शर्माले हालसम्म ५० लाख रुपैयाँ संकलन भएको जानकारी दिए ।
अब थप ५० लाख संकलन गरि अक्षकोषको घोषणा गरिने उनको भनाइ छ । बागलुङबाट वैदेशिक रोजगारीका लागि दोहा पुगेका युवाहरुले अक्षकोष स्थापना गर्न थालेको शर्माले जानकारी दिए । अक्षकोषमा अहिले एक करोडको स्थापना गरे पनि त्यसलाई विस्तारै बढाउने योजना रहेको उनको भनाइ छ ।
सबै बागलुङवासीलाई जोड्नका लागि हरेक परिवारबाट थोरै धेरै रकम संकलन गर्ने शर्माले बताए । अक्षकोष घोषणा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले दोहो पुगेर गर्ने उनले जानकारी दिए ।
समाजका सदस्य भरत पौडेलले विभिन्न प्रकोपबाट विपत्तिमा परेका नागरिकलाई सहयोग पु¥याउने उद्देश्यले अक्षकोषको स्थापना गर्न थालिएको जानकारी दिए । पछिल्लो समय धेरै नागरिकहरु मुटु, मृगौला तथा जटिल प्रकारका रोग लागेर सहयोग याचना गरि रहेको सन्दर्भमा यो कोषबाट पनि उनीहरुलाई ठूलो राहत मिल्ने उनको भनाइ छ ।
जिल्लामा हुने विभिन्न समस्या समाधान गर्न र विदेशमा अलपत्र परेर फर्किएका युवालाई पुनःस्थापन गर्नका लागि अक्षकोषबाट सहयोग गर्ने लक्ष्य रहेको पौडेलले बताए । बागलुङको पर्यटन प्रवद्र्धन, विकास निर्माण र सुशासनका लागि पनि अक्षकोषले भूमिका खेल्ने उनी बताउँछन् ।
प्रकाशित मिति २०८२ वैशाख २ गते मंगलबार ०४:४८




