काठमाडौं
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति )का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले उदारवादी लोकतन्त्र र समाजवादी लोकतन्त्र एउटै रुखका दुई हाँगा भएको बताएका छन्।
बुधबार काठमाडौंमा नेपाली कांग्रेसका नेता एवं जिल्ला विकास समिति गोरखाका पूर्वसभापति स्व. चन्द्रप्रसाद न्यौपानेको पहिलो स्मृति तथा ग्रन्थको लोकार्पण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
उनले लोकतन्त्र नै प्रमुख कुरा रहेको बताए। उनले एकले अर्कालाई निषेध गर्नुभन्दा पनि एक अर्काका राम्रा गुणहरू सिक्दै र खराब गुणलाई त्यागेर अगाडि बढ्दा सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई रक्षा गर्न सकिने धारणा राखे।
पछिल्लो समय प्रतिगामी तत्वहरू सलबलाउन खोजेको भन्दै अध्यक्ष डा. भट्टराईले राष्ट्र हितलाई केन्द्रमा राखेर लोकतान्त्रिक मूल्य मान्यतामा दृढ रही सहकार्य गर्दै अगाडी बढ्नुपर्नेमा जोड दिए।
डा. भट्टराईले भने, “लोकतन्त्र नै प्रमुख कुरा हो। उदारवादी लोकतन्त्र र समाजवादी लोकतन्त्र यी एउटै रुखका दुईवटा हाँगा हुन्। हामीले एकले अर्कालाई निषेध गर्नुभन्दा पनि एक अर्काका राम्रा गुणहरू सिक्ने, खराब गुणलाई त्याग्ने गरी अगाडी बढ्यौँ भने हामीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई रक्षा गरेर अगाडी जान सक्नेछौँ। अहिले विभिन्न ढङ्गले प्रतिगामी तत्त्वहरू सलबलाउन खोजेका छन्। यस्तो अवस्थामा हामीले राष्ट्र हितलाई केन्द्रमा राखेर लोकतान्त्रिक मूल्यमान्यतामा दृढ रहेर सहकार्य गर्दै अगाडी बढौँ।”
अध्यक्ष डा. भट्टराईले आफू कांग्रेस र कम्युनिस्ट दुवै गुण भएको र अलि अगाडी बढेको मान्छे भएको जिकिर गरे।
उनले आफू सामन्तवाद, निरङ्कुशता र राजतन्त्र विरोधी चेतना बोकेर लागेको मान्छे भएको बताउँदै ०३३ सालसम्म काँग्रेसको निकट र त्यसपछि २०७३ सम्म कम्युनिस्ट पार्टीमा रहेर राजतन्त्रको विरोधमा खरो प्रस्तुत भएको बताए।
उनले राजनीतिमा मूल्यमान्यता र निष्ठाभन्दा व्यक्तिका तडकभडक र सम्पतिको मोह हावी भएको भन्दै चिन्तासमेत व्यक्त गरे।




