लमजुङ ।
गुड फ्राइडे, अर्थात असल शुक्रबारको अवसरमा मस्र्याङ्दी गाउँपालिका–९ स्थित महिमा चर्चमा सन्देशमूलक रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ ।
मस्र्याङ्दी इसाई जवान एकताको आयोजनामा तथा प्रदेश अस्पताल बेसीसहरको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा २० जना स्वेच्छिक रक्तदाताहरूले रक्तदान गरेका छन्।
आयोजक संस्थाकी अध्यक्ष शोभा परियारका अनुसार, सेवा, समर्पण र प्रेमको भावनासहित यो कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रमको उद्घाटन गर्दै संविधानसभा सदस्य जमिन्द्रमान घलेले रक्तदानलाई जीवनदानको रुपमा व्याख्या गर्दै, यस्ता परोपकारी कार्यहरूमा सबैलाई सहभागी हुन आग्रह गरे ।
कार्यक्रममा वडा नम्बर ९ का अध्यक्ष हरिशचन्द्र थापा, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य नवीनराज कुइँकेल, ईसाई समाजका पास्टर दिलबहादुर अधिकारी, गाउँपालिका उपाध्यक्ष जुनामाया थापा लगायतको उपस्थिति रहेको थियो।
येशु ख्रीष्टले मानव जातिको पाप मुक्तिका लागि क्रुसमा ज्यान दिएको स्मरणमा ख्रीष्टियन समुदायले प्रत्येक वर्ष गुड फ्राइडे विशेष श्रद्धा, सेवा र प्रार्थनाका साथ मनाउने गर्छन्।
रक्तदान कार्यक्रममार्फत महिमा चर्चले यही सन्देशलाई व्यवहारिक रुपमा प्रस्तुत गरेको आयोजकको भनाइ छ।
कार्यक्रममा सहभागीहरूको स्वास्थ्य परीक्षण र पोषणयुक्त खानाको व्यवस्था पनि गरिएको थियो।
आयोजकले आगामी दिनमा समेत सामाजिक उत्तरदायित्व बोकेका यस्ता कार्यहरू गर्दै जाने प्रतिबद्धता जनाएको छ।
प्रकाशित मिति २०८२ वैशाख ६ गते शनिबार ०३:३५




