कक्षा १२ को परीक्षा आन्दोलनरत शिक्षकहरु समावेश नहुने
काठमाडौं ।
विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरुले आज पनि प्रदर्शन जारी राखेका छन् ।
१९ दिनदेखि शिक्षकहरु काठमाडौंको माईतीघर मण्डलामा आन्दोलनरत छन् । शिक्षामन्त्री, सभामुख, प्रधानमन्त्रीसँग समेत छलफल गरे पनि निस्कर्ष शिक्षकहरुले आन्दोलन छोडेका छैनन् ।
विद्यालय शिक्षा ऐन जारी नभएसम्म आन्दोलन जारी रहने शिक्षकहरुको अडान छ । आन्दोलनमा सहभागी एक शिक्षकले कक्षा १२ को परीक्षा वैशाख ११ गतेदेखि शुरु हुने र यसमा पनि शिक्षकहरु समावेश नहुने बताएका छन् ।
राज्यले आफूहरुका माग छिटो सम्बोधन गर्नेमा आशावादी रहेको उनको भनाइ छ ।
शिक्षकहरुले शनिबारसम्म बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म आन्दोलन गर्दै आएकोमा आईतबारबाट भने बिहान ९ देखि १२ बजेसम्मलाई समय परिवर्तन गरेका छन् ।
यसअघि दिउँसो १२ देखि ३ बजे सम्म माइतीघर बानेश्वर क्षेत्रमा आन्दोलन गर्दे आएका शिक्षकहरुले आन्दोलनको समय हेरफेर गरेका हुन् ।
शुक्रबार राति प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख देवराज घिमिरेसँग भेटवार्ता गर्न पुगेका महासंघका शिक्षक नेताहरु सरकारले शिक्षकका माग सम्बोधन गर्ने कुनै छाँट नदेखेपछि हिजो आकस्मिक बैठक बसी आन्दोलनलाई थप सशक्त बनाउने र समय हेरफेर गर्ने निर्णयमा पुगेको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए ।
शिक्षकहरुले थालेको सडक आन्दोलन आज १९ औं दिन हो । अब आन्दोलनको निर्णायक घडीमा रहेको भन्दै अध्यक्ष सुवेदीले आन्दोलनमा डटिहरन सबै शिक्षक कर्मचारीलाई अनुरोध गरेका छन् ।
प्रकाशित मिति २०८२ वैशाख ७ गते आइतबार ११:०४




