२०८३ साउन २१ गते बिहीबार

नयाँ नापी ऐन ड्राफ्ट भइसक्यो, भूमि ऐन बनाउन समिति बनाएका छौँः मन्त्री अधिकारी

नयाँ नापी ऐन ड्राफ्ट भइसक्यो, भूमि ऐन बनाउन समिति बनाएका छौँः मन्त्री अधिकारी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ वैशाख ९ गते मंगलबार ०२:१५

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले नयाँ नापी ऐन ड्राफ्ट भइसकेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित नेपाल जग्गा तथा आवास विकास महासंघको तेस्रो स्थापना दिवसलाई सम्बोधन गर्दै उनले यस्तो...

काठमाडौं ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले नयाँ नापी ऐन ड्राफ्ट भइसकेको बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित नेपाल जग्गा तथा आवास विकास महासंघको तेस्रो स्थापना दिवसलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । मन्त्री अधिकारी ड्राफ्ट भइसकेको नयाँ ऐनलाई मन्त्रालयमा छलफल गरी सरोकारवाला सबैको लागि खुला गर्ने बताउँदै सबैको सुझाव लिएर अगाडी बढ्ने बताएका छन् । उनले भूमि सम्बन्धी नयाँ ऐन निर्माणको लागि मन्त्रालयले समिति गठन गरेको समेत जानकारी दिए । उनले उक्त समितिले विज्ञहरूलाई समावेश गरेर काम थाल्ने समेत जिकिर गर्दै विज्ञहरूले गरेको ड्राफ्टलाई सरोकारवालासँग छलफल गरी त्यसलाई अन्तिम रूप दिएर मन्त्रिपरिषद्को बैठक हुँदै संसदमा पठाउने बताए । मन्त्री अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीले एघार वटा नयाँ ऐन बनाउनको लागि सम्बन्धित निकायलाई निर्देशन दिएको समेत जिकिर गरे ।

मन्त्री अधिकारीले रियल स्टेट व्यवसाय विदेशी मुलुकमा प्रतिष्ठित उद्योगको रूपमा विकास भएपनि नेपालमा अझै प्रतिष्ठित उद्योगको रूपमा देखापर्न नसकेको बताए । उनले नेपाल जग्गा तथा आवास विकास महासंघको स्थापना भएको ३० वर्ष पुगे पनि नेपाल अन्य मुलुकको तुलनामा पछाडि रहेको जिकिर गरे । उनले घरजग्गा तथा आवासको व्यवसाय गर्ने निकायहरूले देश र जनताको निम्ति राम्रो काम गर्छन् भन्ने सन्देश छर्न नसकिएको बताए । उनले घर जग्गा व्यवसायीहरूले आफ्नो फाइदाको लागि मात्रै काम गर्छन् भन्ने भ्रमलाई चिर्नुपर्ने आवश्यकता रहेको धारणा राखे ।

उनले नेपाल जग्गा तथा आवास विकास महासंघले आफ्नो उद्देश्य र लक्ष्यलाई नीति, विधि र कानून अनुसार अगाडी बढ्ने कुरामा उब्जिएका भ्रमहरूलाई चिर्न पहिलो प्राथमिकता दिएर लाग्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति २०८२ वैशाख ९ गते मंगलबार ०२:१५
हजुरको प्रतिक्रिया