महाधिवेशन बिथोल्ने काम नगर्न आग्रह
काठमाडौं ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को उच्चस्तरीय समितिका संयोजक एवं संघका पूर्वअध्यक्ष डा. शेष घलेले पूर्वनिर्धारित कार्यतालिकाअनुसार नै महाधिवेशन हुने बताएका छन् ।
यही वैशाख २० गतेदेखि २२ गते हुने महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको उनले जानकारी दिएका छन् ।
संयोजक घलेले सर्वोच्च अदालत फैसला कार्यान्वयन निर्देशनालयको निर्देशन र तालुक मन्त्रालय परराष्ट्रको समन्वयमा तोकिएको समयमा नै एकताको महाधिवेशन हुने बताए ।
घलेले सर्वोच्चको आदेशअनुसार ६ महिनाभित्र एकता महाधिवेशनका लागि आफ्नो नेतृत्वको समितिले जिम्मेवारीपूर्वक काम गरी महाधिवेशनको तयारी अन्तिम चरणमा पु¥याएको जिकिर गरे ।
विश्वका विभिन्न मुलुकबाट प्रतिनिधिहरु काठमाडौं आउने क्रम शुरु भएको उनले जानकारी दिए ।
उनले सर्वोच्चको आदेश पालना गर्नु सबैको साझा दायित्व भएको जनाउँदै पुनः मिति परिवर्तन गर्नु ‘रुल अफ ल’को बर्खिलाफमा जाने कार्य भएका कारण आफूहरुले त्यसो गर्न नसक्ने उल्लेख गरे ।
वर्तमान एनआरएनएलाई रिब्राण्डिङसहितको नयाँ एनआरएनए बनाउने अभियानमा लाग्नसमेत उनले सबैलाई आग्रह गरेका छन् । उनले नयाँ र सुधारिएको एनआरएनए बनाउने अभियानमा आफूहरु रहेको पनि जिकिर गरे ।
कानूनको सर्वोच्चताको पालना गर्दै खुला छलफल, वार्ता र संवादको माध्यमबाट संस्थालाई एकजुट बनाउन र तोकिएको मितिमा काठमाडौंमा भेला भएर संघको एकता महाधिवेशनलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न आ—आफ्नो क्षेत्रबाट पहल गर्न उनले सबै गैरआसायीय नेपालीलाई आग्रह गरेका छन् ।
प्रकाशित मिति २०८२ वैशाख १० गते बुधबार १०:०९




