काठमाडौं ।
सर्वोच्च अदालतले तीन दिनभित्र शिक्षकलाई विद्यालय फर्काएर पठनपाठनको वातावरण बनाउन सरकारका नाममा अन्तरिम आदेश दिएको छ ।
न्यायाधीश नहकुल सुवेदीको हिजोको इजलासले तीन दिनभित्र आन्दोलनरत शिक्षकहरु विद्यालयमा फर्की नियमित पठनपाठन गर्ने वातावरण सुनिश्चित गर्न आदेश दिएको हो ।
इजलासले एसईईको परीक्षाफल समयमै सार्वजनिक गर्न र कक्षा १२ को परीक्षा मिति नसार्न आदेश दिएको छ । आन्दोलनरत शिक्षकका कारण एसईई बोर्डको परीक्षाफल समयमा प्रकाशन हुन नसक्ने अवस्थाको सिर्जना हुन नदिन सर्वोच्चले भनेको छ ।
कक्षा १२ को परीक्षा समयमा नभई लाखौं विद्यार्थीको भविष्य अन्योलमा पर्ने जोखिम रहेको भन्दै आदेशमा परीक्षा समयमै गर्न र नसार्न पनि भनिएको छ ।
सर्वोच्चले देशभरका बालबालिकालाई नियमत रुपमा विद्यालयमा पठनपाठन गर्न पाउने हकबाट वञ्चित नगर्न, नगराउन पनि भनेको छ ।
आदेश प्राप्त भएको मितिले चौथो दिन आदेश कार्यान्वयनको प्रगति सम्बन्धमा प्रतिवेदन पेश गर्न पनि सर्वोच्च अदालतले शिक्षा मन्त्रालयलाई आदेश दिएको छ ।
अधिवक्ताहरू श्रवणकुमार चौधरी र माधवराज शर्मा पोखरेल लगायतले शिक्षकहरूको आन्दोलनका कारण बालबालिकाको पठनपाठन प्रभावित भएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।
तीन हप्ता हुँदा पनि शिक्षकहरूको आन्दोलन टुङ्गिने ठेगान नभएको र त्यसले देशभरका बालबालिकाको पढाई र कक्षा १२ को परीक्षा प्रभावित बनेको भन्दै उनीहरूले उपयुक्त आदेशको माग गरेका थिए ।






