२०८३ साउन २१ गते बिहीबार

आन्दोलनरत शिक्षक र सरकारबीच वार्ता जारी

आन्दोलनरत शिक्षक र सरकारबीच वार्ता जारी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ वैशाख १३ गते शनिबार ०९:२८

लामो समय शैक्षिक हड्ताल हुँदा सामुदायिक विद्यालयको पढाइ प्रभावित भएको छ । शिक्षक आन्दोलनका कारण विद्यार्थी भर्ना, पाठ्यपुस्तक वितरण, एसईईको उत्तरपुस्तिका परीक्षण, कक्षा १२ को परीक्षालगायतका शैक्षिक गतिविधि प्रभावित भएका छन् ।

काठमाडौं ।

सरकार र नेपाल शिक्षक महासंघबीच आज बिहानै सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा वार्ता सुरु भएको छ ।

शिक्षामन्त्री रघुजी पन्तले बोलाएपछि आन्दोलनरत नेपाल शिक्षक महासंघका प्रतिनिधि शनिबार बिहान साढे ७ बजे वार्ताका लागि सिंहदरबार पुगेका हुन् ।

सरकार र महासंघबीच शुक्रबार नै वार्ता तय भए पनि अन्तिम समयमा भाँडिएको थियो ।

नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले वार्ताबाटै समाधान खोज्न सरकार प्रतिबद्ध रहेको भन्दै शिक्षकहरूलाई वार्तामा बोलाएका हुन् ।

यसअघि बिहीबार सर्वोच्च अदालतले विद्यार्थीको पठनपाठन सञ्चालन गर्ने गरी तीनभित्र शिक्षकका माग सम्बोधन गर्न आदेश दिएको थियो । सोही अनुसार मन्त्रालयले वार्ताबाट माग सम्बोधनको प्रयास गरेको हो ।

सर्वोच्च अदालतले आन्दोलनरत शिक्षक–कर्मचारीलाई तीन दिनभित्र उनीहरूको जायज र संविधानसम्मत माग सम्बोधन गरी विद्यालय फर्किने वातावरण बनाउन आदेश दिएपछि सरकार र शिक्षक दुवै पक्ष निकास निकाल्नुपर्ने दबाबमा छन् ।

विगतमा भएका सहमति अनुसार विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न माग गर्दै शिक्षकहरू २५ दिनदेखि सडक आन्दोलनमा छन् ।

शिक्षकहरूले गत चैत २० गतेदेखि शिक्षा ऐन जारी गर्न माग गर्दै काठमाडौं केन्द्रित सडक आन्दोलन गर्दै आएका छन् । उनीहरुले दिनहुँ माइतीघर क्षेत्रमा प्रदर्शन गरिरहेका छन् ।

लामो समय शैक्षिक हड्ताल हुँदा सामुदायिक विद्यालयको पढाइ प्रभावित भएको छ । शिक्षक आन्दोलनका कारण विद्यार्थी भर्ना, पाठ्यपुस्तक वितरण, एसईईको उत्तरपुस्तिका परीक्षण, कक्षा १२ को परीक्षालगायतका शैक्षिक गतिविधि प्रभावित भएका छन् ।

उनीहरुले आज पनि आन्दोलन निरन्तर रहने बताएका छन् ।

सरकारसँग वार्ताका लागि जाँदै गर्दा महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आन्दोलन नरोकिने भन्दै बिहान ११ बजे माइतीघर मण्डलामा जम्मा हुन शिक्षकहरूलाई आग्रह गरेका छन् ।

आफूहरू निर्णायक र अन्तिम लडाइँमा रहेकाले नियमितभन्दा बढी बल लगाउनुपर्ने भन्दै उनले सबैलाई तीन घण्टा प्रदर्शनस्थलमा अनिवार्य बस्न भनेका छन् ।

 

प्रकाशित मिति २०८२ वैशाख १३ गते शनिबार ०९:२८
हजुरको प्रतिक्रिया