२०८३ साउन २१ गते बिहीबार

आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने दिन

आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने दिन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ वैशाख १४ गते आइतबार ०८:३२

वैशाखकृष्ण औँसीका दिन दिवंगत आमाले आश गर्ने भएकाले तर्पण, पिण्डदान र सिदादानसहित श्राद्ध गरे खुसी भई आशीर्वाद दिने शास्त्रीय मान्यता छ ।
सनातन वैदिक शास्त्रमा प्रत्येक नरनारीले जीवनमा देवऋण, मनुष्यऋण र पितृऋण तिर्नैपर्छ भनिएको छ ।

पोखरा ।

आज वैशाख कृष्ण औँसी, अर्थात् मातातीर्थ औँसी आमाको मुख हेर्ने दिन ।

प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिन जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गरी मातातीर्थ औँसी मनाइन्छ ।

आमाप्रति श्रद्धाभाव प्रकट गर्ने यो पर्वलाईं ‘आमाको मुख हेर्ने दिन’ भनिन्छ । आमाको मुख हेर्ने पर्वका दिन आज आमालाई मीठा–मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिकासाथ मनाइँदै छ ।

शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनीबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा छ ।

छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ ।

आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवंगत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन् ।

सन्तानलाई नौ महिनासम्म गर्भमा धारण गरी जीवन दिने भएकाले आमाको महत्व अरुभन्दा बढी छ । बाबुभन्दा आमाको महत्व हजार गुणा बढी हुने भनी शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ ।

यस्तो महत्व भएकाले जीवित आमालाई मीठो खान र राम्रो लगाउन दिएर सम्मान गरी खुसी बनाइन्छ ।

दिवंगत आमाका नाममा श्रद्धा भक्तिसाथ तर्पण, पिण्डदान र सिदादान गरिन्छ ।

वैशाखकृष्ण औँसीका दिन दिवंगत आमाले आश गर्ने भएकाले तर्पण, पिण्डदान र सिदादानसहित श्राद्ध गरे खुसी भई आशीर्वाद दिने शास्त्रीय मान्यता छ ।

सनातन वैदिक शास्त्रमा प्रत्येक नरनारीले जीवनमा देवऋण, मनुष्यऋण र पितृऋण तिर्नैपर्छ भनिएको छ ।

यसैबीच दिवंगत आमाको सम्झनामा श्राद्ध तथा दान गर्न वैशाख कृष्ण औँसीका दिन काठमाडौंको थानकोट क्षेत्रमा रहेको मातातीर्थमा मेला लागेको छ । मेला भर्नेहरुको बिहानैदेखि घुइँचो छ ।

कतिपय दर्शनार्थीहरु शनिबार साँझ नै दीप प्रज्वलन गरी रातभर जाग्राम बसेका थिए । उनीहरुले बिहान सबेरै स्नान गरी पूजा गरेका छन् ।

मेलामा सहभागी भई त्यहाँस्थित कुण्डमा दर्शन गरेमा आमा दिवंगत हुने छोराछोरीले आमालाई तिर्नुपर्ने ऋणबाट मुक्त हुने जनविश्वास रही आएको छ ।

आमा नहुनेहरु मातातीर्थमा गई स्नान गरी हरिहर (विष्णु र शिव) को पूजा गर्छन् । आमा नभएकाहरुले सके प्रत्येक वर्ष, नसके एक पटक मातातीर्थ औँसीमा श्राद्ध गर्नुपर्ने मान्यतासमेत छ ।

प्रकाशित मिति २०८२ वैशाख १४ गते आइतबार ०८:३२
हजुरको प्रतिक्रिया