जसपाले मार्गप्रसस्त गर्याे, टुङ्गिएन मन्त्रालय बाँडफाँटकाे किचलाे
पाेखरा । गण्डकी प्रदेशमा पृथ्वीसुव्वा गुरूङ नेतृत्वकाे सरकार ढलाएर बनेकाे विपक्षी गठबन्धनकाे सरकार मन्त्रालय बाँडफाँटकाे विषयमा भएकाे किचलाेले अहिलेसम्म रूमल्लिइरहेकाे छ ।
मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गत जेठ २९ गते कांग्रेसबाट कुमार खड्का, माओवादीबाट मधुमाया अधिकारी गुरुङ, जनता समाजवादीका हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङलाई विनाविभागीय मन्त्री नियुक्त गरेका थिए। मन्त्रालयकाे किचलाेले मन्त्रिमण्डलले पूर्णता पाउन त परै जावाेस विना विभागीय मन्त्रीहरूकाे कार्यविभाजनसमेत हुन सकेकाे छैन ।
कांग्रेसले जसपालाई एक अर्थमन्त्री र थप अर्काे कुनै एक मन्त्रालय दिने लिखित सहमति गरेकाे थियाे । तर, विश्वासकाे मत प्राप्त गरिसकेपछि काँग्रेस सहमतिबाट पछि हटेकाे जसपाले आराेप लगाएकाे छ । मन्त्री हरिशरण आचार्य भन्छन – ‘लिखित सहमति अनुरूप अगाडी बढाैं भन्दा काँग्रेसले राजनीतिक बेइमानी गर्याे, अन्य राजनीतिक दलले समेत जसपाका कारण मन्त्रालय बाँडफाँटमा समस्या भयाे भन्ने ढङ्गले बाहिर कुरा गर्न थालेपछि हामी आफै लचक भएर अर्थ र भाैतिक दुबैबाट दावी छाडेर मार्ग प्रसस्त गरेका छाै ।”
मार्ग प्रसस्त गरिदिएपछि यसअघि नियुक्त मन्त्रीहरूकाे कार्यविभाजन गराै भन्दासमेत आलटाल भइरहेकाे मन्त्री आचार्यकाे गुनासाे छ । जसपा याे हाेडबाट बाहिरिएपनि अहिले स्वतन्त्र साँसद राजिव गुरूङ, माओवादी केन्द्र र काँग्रेसका विच मन्त्रालय बाँडफाँटमा सहमती जुटन सकिरहेकाे छैन । साँसद राजिव गुरूङले अहिलेपनि अर्थ वा भाैतिकमध्ये कुनै एक मन्त्रालय आफूँले पाउनुपर्ने दावी गरिरहेका छन् । स्राेतका अनुसार अर्थ छाड्न यसअघि नियुक्त विना विभागीय मन्त्री कुमार खड्का तयार छैनन् भने माओवादीले भाैतिकलाइ बटमलाइन बनाएकाे छ ।
११ मन्त्रालय रहेको गण्डकीमा मन्त्रालय बाँडफाँटको सहमति जुट्न नसक्दा न मन्त्रिपरिषद् बिस्तार हुन सकेको छ न त यसअघि नियुक्त मन्त्रीहरूकाे कार्यविभाजन नै हुन सकेकाे छ ।
मुख्यमन्त्रीले आज कार्यविभाजन गर्ने गरि तयारी थालेपनि राजिव गुरूङ र माओवादीसँग मन्त्रालय बाँडफाँटकाे बिषय नटुङ्गिएकाेले सम्भव हुन नसकेकाे मन्त्री आचार्यकाे भनाइ छ ।
प्रकाशित मिति २०७८ असार ११ गते शुक्रबार ०९:४१




