२०८३ साउन २१ गते बिहीबार

राष्ट्रपति पौडेलद्वारा भाषा, साहित्य र संस्कृतिको संरक्षणमा जोड, राष्ट्रकवि घिमिरेको शालिक अनावरण

राष्ट्रपति पौडेलद्वारा भाषा, साहित्य र संस्कृतिको संरक्षणमा जोड, राष्ट्रकवि घिमिरेको शालिक अनावरण

बिराट न्यौपाने

@Public 4K Tv

२०८२ वैशाख २१ गते आइतबार ०७:२४

उनले साहित्य, संस्कृति र दर्शनको संरक्षण, संवद्र्धन र विकास सबै नागरिकको साझा जिम्मेवारी भएको उल्लेख गरे ।

लमजुङ ।

राष्ट्रपति रामचन्द्र पौडेलले भाषा, साहित्य, संस्कृति र दर्शनलाई मानव जीवनका लागि अपरिहार्य विषय भएको बताएका छन् ।

राष्ट्रकवि माधव घिमिरे प्रतिष्ठानको आयोजनामा तथा मस्र्याङ्दी वाङ्मय प्रतिष्ठानको सहआयोजनामा लमजुङको पुस्तुन बाहुनडाँडामा आयोजित एक विशेष समारोहमा राष्ट्रपति पौडेलले दर्शनलाई मानव जीवनका लागि अपरिहार्य विषय भएको बताएका हुन् । उनले राष्ट्रकवि माधव घिमिरेको पूर्णकद शालिक अनावरण गरेका थिए ।

उनले साहित्य, संस्कृति र दर्शनको संरक्षण, संवद्र्धन र विकास सबै नागरिकको साझा जिम्मेवारी भएको उल्लेख गरे । नेपाली वाङ्मयमा योगदान पु¥याउने स्रष्टाहरूको सम्मान गर्न राज्य र समाजले कहिल्यै कञ्जुस्याई गर्नु नहुने उनले धारणा राखे ।

उनले भने, “प्रतिभाशाली स्रष्टा र साहित्यकारलाई राज्य र समाजले सधैँ सम्मान र सहयोग गर्न कञ्जुस्याई गर्नु हुँदैन। राष्ट्रकविको शालिक र पार्कले यो ठाउँलाई साहित्यप्रेमीहरूको गन्तव्यस्थल बनाउनेछ।”

राष्ट्रपति पौडेलले नेपाललाई विविध भाषिक र सांस्कृतिक विशेषताले भरिएको देश भएको उल्लेख गर्दै यिनै विशेषताले मुलुकको गौरवमय पहिचान बनाएको जिकिर गरे । उनले गण्डकी प्रदेशका लमजुङ, तनहुँ र कास्की जिल्लाहरू भाषा, संस्कृति र राजनीतिक चेतनाको उर्वर भूमि रहेको उल्लेख गर्दै राणाशासनविरुद्धको आन्दोलनमा यस क्षेत्रको ऐतिहासिक योगदानको पनि चर्चा गरे ।

“तनहुँको बन्दीपुर कब्जा जस्ता घटनाहरूले नेपाली जनताको राजनीतिक चेतनामा ठूलो जागरण ल्याए,” उनले भने, “त्यही संघर्षकै जगमा आजको संघीय लोकतान्त्रिक गणतन्त्र सम्भव भएको हो।”

राष्ट्रपति पौडेलले आदिकवि भानुभक्त आचार्य, कवि शिरोमणि लेखनाथ पौड्यालदेखि राष्ट्रकवि माधव घिमिरेसम्मका साहित्यिक योगदानहरूको स्मरण गर्दै गण्डकी साहित्य सर्कल निर्माण गर्नुपर्ने आवश्यकता औंल्याए । उनले चुँदी रम्घालाई साहित्यिक तीर्थस्थलको रूपमा विकास गर्न सम्पूर्ण तहबाट सहयोगको अपिल गरे ।

राष्ट्रकवि माधव घिमिरेका काव्य रचनाहरूले नेपाली समाजको जीवन्त चित्रण गर्नुका साथै मानविय संवेदना, प्रकृति र देशप्रेमको गहिरो अभिव्यक्ति गरेको भन्दै राष्ट्रपति पौडेलले ‘नेपाली हामी रहौला कहाँ’ जस्ता कालजयी कृतिहरूले राष्ट्रिय भावना झल्काएको उल्लेख गरे ।

समारोहमा स्थानीय बासिन्दा, साहित्यकार, शिक्षक, विद्यार्थी र सांस्कृतिक अभियन्ताहरूको व्यापक उपस्थिति रहेको थियो।

राष्ट्रपति पौडेलले साहित्य, संस्कृति र पहिचान जोगाउन सबै क्षेत्र, तह र तप्काको सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै भावी पुस्ताको लागि साहित्यलाई जीवन्त दस्तावेजका रूपमा जोगाउनुपर्ने आवश्यकता औंल्याउनुभयो।

प्रकाशित मिति २०८२ वैशाख २१ गते आइतबार ०७:२४
हजुरको प्रतिक्रिया