पोखरा ।
गण्डकी प्रदेश र बागमती प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयबिच रोजगारी क्षेत्रको सिकाई अनुभव आदानप्रदान कार्यक्रम गरिएको छ ।
गण्डकी प्रदेशको आयोजनामा भएको उक्त कार्यक्रममा प्रदेशबीच श्रम, रोजगार र उद्यम प्रवद्र्धनसम्बन्धी नीतिगत तथा कार्यान्वयन पक्षमा गरिएका कामहरूको अनुभव साझा गरिएको हो ।
गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले वैदेशिक रोजगारीमा जाने श्रमिकले भोग्ने समस्या गम्भीर भएको र उक्त समस्यालाई समाधान गर्ने बाटोमा लाग्नुपर्ने आवश्यकतालाई औंल्याए ।
मन्त्री थापाले मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषा बनाउन गण्डकी सरकार कानुन निर्माण चरणमा रहेको उल्लेख गरे । व्यवसायिक क्षेत्रमा जनशक्तिको अभाव भएको बताउँदै आफू पनि व्यवसायिक फिल्डबाट आएको मान्छे भएकाले यो समस्या अनुभूति गरेको उनले बताए ।
बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले सिक्ने अवसर मिल्नु नै मुख्य कुरा भएको बताए । प्रदेशले गरेका राम्रा कामहरू जनताको बीचमा नलाँदा त्यसको औचित्यमाथि प्रश्न उठेको उनको भनाइ छ । उनले रोजगारी सिर्जनालाई प्राथमिकता दिँदै भौतिकभन्दा मानव विकासमा केन्द्रित हुनुपर्ने आवश्यकतालाई औंल्याए ।
कार्यक्रममा गण्डकी प्रदेश सरकार र बागमती प्रदेश सरकारले श्रम रोजगारीको क्षेत्रमा गरेका प्रयास तथा सामी कार्यक्रमको हालसम्मको संक्षिप्त प्रगति विवरण पेश गरेका थिए । दुबै प्रदेशका सचिवहरू, सम्बन्धित मन्त्रालयका निर्देशक तथा कर्मचारी लगायतको उपस्थिति रहेको कार्यक्रमले श्रम बजारको मागअनुसार दक्ष जनशक्ति उत्पादन गर्ने, उद्यमशीलता विकास गर्ने र प्रदेशस्तरमै रोजगारी सिर्जना गर्न सक्ने वातावरण निर्माणमा योगदान पुग्ने अपेक्षा गरिएको छ ।
प्रकाशित मिति २०८२ जेठ २ गते बिहीबार ०७:५५




