पर्वत । पर्वतमा बाढीले गाडी बगाउँदा तीन जना बेपत्ता भएका छन् । कुश्मा नगरपालिका वडा नं. ८ चुवास्थित सुन्दरे खोलामा आएको बाढीले गाडी बगाएको थियो । पर्वत प्रहरीका अनुसार बगाएको गाडी भेटिए पनि त्यसमा रहेका तीन जना अझै भेटिएका छैनन् ।
मंगलबार मध्यरातमा आएको बाढीले मध्यपहाडी लोकमार्ग विस्तारको काम गर्दै आएको लामा कन्ट्रक्सनको गाडी बाढीले बगाएको हो । भारी वर्षाले मध्यरातमा खोला उर्लिएपछि त्यहाँबाट अन्यत्र जानका लागि खोला पार गर्न खोज्दा गाडी बगाएको बताइन्छ । स्थानियका अनुसार ईञ्जिनियर आचार्य, चालक चौधरी रोड छेउको पसलमा खाजा खाँदै थिए । पानी वर्षिरहेको थियो । नजिकैको सुन्दरे खोलामा बाढी उर्लिर आयो । बाढी आएको थाहा हुने बित्तिकै पसल व्यवसायी र ग्राहकहरु पैदल नै भागे । तर इन्जिनियर र उनका चालक गाडीमा चढेर भाग्ने प्रयास गर्दागर्दै बाढीले गाडी नै लग्यो ।
सो गाडीमा सवार एक इन्जिनियर, चालक र एक सर्वसाधारण रहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीले जानकारी दिए । बेपत्ता हुनेमा प्रोजेक्ट कोअर्डिनेटर राजाराम आचार्य, चालक ईन्द्र चौधरी र परिचय खुल्न नसकेका एक स्थानीय छन् ।
प्रहरीले राति १२ बजेदेखि नै खोजी गरिरहे पनि अवस्था पत्ता लाग्न सकेको छैन । पहिरोले बगाएको गाडी भने आज बिहान मोदी खोलामा फेला परेको उनले बताए ।
बाढीले दुई ओटा मोटरसाइकल र एउटा स्कुटर समेत बगाएको छ । तिनीहरू क्षतविक्षत अवस्थामा फेला परेका छन् । कुश्माको दुर्लुङदेखिको सडकमा भेल बग्दा रोड छेउछाउका पाँच वटा किराना तथा चियापसलहरु बगाएका छन् ।
प्रकाशित मिति २०७८ असार २३ गते बुधबार ०७:४३




