२०८३ साउन २१ गते बिहीबार

प्रचिण्डलक्षित प्रधानमन्त्रीको टिप्पणीः ‘वास्तवमा ती वामपन्थी थिएनन्’

प्रचिण्डलक्षित प्रधानमन्त्रीको टिप्पणीः ‘वास्तवमा ती वामपन्थी थिएनन्’

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ जेठ १२ गते आइतबार ०३:३८

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले विदेशी उद्देश्यको मतियार भएर तत्कालिन एमाले विभाजन गर्न भुमिका खेलेको आरोप लगाएका छन् । आईतवार नेकपा...

काठमाडौं ।

प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले विदेशी उद्देश्यको मतियार भएर तत्कालिन एमाले विभाजन गर्न भुमिका खेलेको आरोप लगाएका छन् ।

आईतवार नेकपा (एमाले) बागमती प्रदेश कमिटीद्वारा आयोजित वडाध्यक्षहरुको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो आरोप लगाएका हु्न ।

अध्यक्ष दाहाललाई लक्षित गर्दै उनले एमालेलाई अभिवाजित पार्टी रहन नदिन र नेपाललाई गरीखान नदिनको लागि विदेशी उद्देश्यको मतियार भएको टिप्पणी गरे । उनले क्रान्तीको नाममा विदेशबाट हतियार ल्याएर नेपाली जनता र टाउकोमा पड्काएको आरोप समेत लगाए ।

उनले माओवादीले युद्धकालमा फालेका बमहरु पड्किएर अहिले पनि नागरिकले ज्यान गुमाउनु परिरहेको बताए । प्रधानमन्त्री ओलीले विध्वंस मच्चाएको तत्वहरु वास्तवमा कम्युनिष्ट र वामपन्थी नभएको तर्क समेत गरे ।

उनले भने, ‘देशमा क्रान्ती भनेर बाहिरबाट हतियार ल्याउने, बाहिरका हतियार, बाहिरका खरखजना, बाहिरकै तालिम, नेपाली जनताको टाउको र छातिमा पड्काएर छोडे । उतै बम बनाउन सिके, यता ल्याएर पड्काए । गुडिरहेको बसमा पड्काए । बुढाबुढी, बालबालिका भएका ठाउँमा पड्काए । तर गाह्रो पर्दा बेवारिसे छोडेर हिँडे । लुकाएर हिँडे । अहिलेपनि तिनको असर ठाउँ ठाउँमा परिरहेको छ । अहिले पनि बेवारिसे छोडेका बमहरुको कारण बच्चाबच्चीको निधन भइरहेको छ । त्यस खालका तत्वहरु हामीले वामपन्थी भनेर मिलायौँ । कम्युनिष्ट भनेर मिलायौँ । तर वास्तवमा ति वामपन्थी थिएनन् । त्यसकारण उनीहरुले कम्युनिष्ट पार्टीको महान सफलता, दुई तिहाईको लगभगको स्थिति, यो महान विजय उनीहरुले सहनै सकेनन् । विचार गर्नुहोस् त । हाम्रो पार्टी नफुटेको भए, एक्लै हामी जुन ठाउँमा पुगेका थियौँ त्यही ठाउँमा पुर्याएको भए । नेकपा ९एमाले० अहिले पनि प्रमुख शक्तिको रुपमा आएको छ भने । सिध्यायौँ एमालेलाई भन्दा फेरी सरकारको नेतृत्व गरिरहेको छ भने त्यो नेकपा ९एमाले० अभिवाजित पार्टी रहेको भए के हुन्थ्यो । तर उनीहरुले कुनैपनि हालतमा अभिवाजित पार्टी रहन नदिने र नेपाललाई खान नदिने बाहिरी उद्देश्यका मतियार भएर उनीहरुले त्यस्ता कामहरु गरे ।’

प्रधानमन्त्री ओलीले आफूहरुले कम्युनिष्ट भनेर पार्टी एकता गरे पछि लगभग दुई तिहाइमा पुगेको नेकपालाई विभाजनको अपराध गरेर एमालेको देश बनाउने अभियानलाई रोक्न खोजेको समेत गरे ।

प्रकाशित मिति २०८२ जेठ १२ गते आइतबार ०३:३८
हजुरको प्रतिक्रिया