काठमाडौ ।
नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं पूर्वअर्थमन्त्री जनार्दन शर्माले बजेटमा केही नयाँ कुरा आएको भएपनि देशको समस्या समाधान गर्न नसक्ने बताएका छन् ।
शनिवार काठमाडौंमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको पोस्ट बजेट छलफलमा बोल्दै उहाँले यस्तो बताएका छन् ।
उनले बजेटमा केही नयाँ कुराहरु रहेको तर निर्यात भन्दा आयात १० गुणा गर्ने आजको अवस्थालाई समाधान गर्नेकुरा नरहेको उल्लेख गरे ।
उनले त्यसको समाधान गर्न निजी क्षेत्रहरुलाई साधन, श्रोत, उत्पादनहरुसँग जोडेर लगानी गर्नको लागि बजेटले कति काम गर्छ भन्ने प्रश्न रहेको जिकिर गरे ।
उनले बजेटमा उद्योगीहरुलाई किसान, श्रोत साधनसँग जोड्ने कार्यक्रम नभेटेको बताए । दुई ठूला राजनतिक दलहरुको शक्तिशाली सरकारको तुलनामा शक्तिशाली बजेट भने आउन नसकेको उनको भनाई छ ।
उपमहासचिव शर्माले भने , ‘केही नयाँ कुराहरु त आएका छन् । नयाँ कुरा सँगसँगै निर्यात भन्दा आयात १० गुणा गर्ने आजको हाम्रो अवस्था छ । त्यो १० गुण आयातको अवस्थालाई बदल्नका लागि त्यसलाई सन्तुलनतिर लैजानका लागि वा हाम्रा निजी क्षेत्रहरुलाई हाम्रो साधन, श्रोत, उत्पादनहरुसँग जोडेर लगानी गर्नको लागि बजेटले कति काम गर्ला ? तपाईंहरुलाई त्यतातिर लैजान केही सहुलियत, किसानसँग तपाईंहरुलाई जोड्ने कार्यक्रम, हाम्रा श्रोत, साधानसँग जोड्ने कार्यक्रम बजेटमा खोजिरहेको छु । मैले नभेटेको पनि हुनसक्छ । नेपालको जुन वर्तमान आर्थिक प्रणाली, कार्यान्वयनको संरचना छ, जुन तरिका छ, त्यसको पुनःसंरचना जरुरी छ । दुई ठूला पार्टीको शक्तिशाली सरकार छ । त्यस अर्थको अपेक्षा होला । सायद त्यस्तो सरकारको अर्थमन्त्री थिइन, मैले सकिन होला । अहिले त हाम्रो अर्थमन्त्रीजी त धेरै शक्तिशाली हो नि ।’
उपमहासचिव शर्माले बजेट यथार्थपरक छ भन्नसके पनि अन्तर्य हेर्दा कार्यान्वयनको चुनौति रहेको बताए ।
बजेट आज चाहिएको जस्तो नभएको जिकिर गर्नुभयो । अर्थतन्त्रको विस्तार, समृद्धिका लक्ष्यहरु पूरा गर्न बजेटले नसक्ने उनको भनाई छ ।
प्रकाशित मिति २०८२ जेठ १८ गते शनिबार ०३:४१




