पाेखरा ।
निजी सवारीसाधनलाई भाडामा चलाउन दिने गण्डकी प्रदेश सरकारको निर्णयको विरोधमा सार्वजनिक यातायात व्यवसायीहरूले सार्वजनिक सवारी साधन बन्द गर्न गरेकाे आव्हानको तेस्राे दिन अर्थात आइतबारसमेत जनजीवन प्रभावित बनेकाे छ ।
सार्वजनिक यातायात अवरुद्ध भएपछि सार्वजनिक सवारी प्रयाेग गरि विद्यालय जाने विद्यार्थी, छाेटाे तथा लामाे दुरीका यात्रुलाई त्यसको प्रत्यक्ष प्रभाव परेको छ भने सार्वजनिक सवारी प्रयोग गरि आयात तथा निर्यात हुने सवै प्रकारका सामाग्रीको आयात र निर्यात दुवै रोकिएको छ ।
यता, सार्वजनिक यातायात राेकिएपछि छाेटाे तथा लामाे दुरीकाे यात्रा तय गर्नुपर्ने यात्रु राइड शेयिरङवालाहरूबाट ठगिएका घटनाहरू सार्वजनिक हुन थालेका छन् । पोखरामा राइड शेयरिङ (सेल्फ चालक) हरूले मनपरी भाडा अशुल्न थालेपछि यात्रुहरू मर्कामा परेका हुन् । पोखरा सहित गण्डकी प्रदेशमा सार्वजनिक यातायात सेवा ठप्प हुँदा यात्रुहरू सेल्फ चालकलाई चर्काे भाडा तिर्न बाध्य छन् ।
यात्रुले राइड शेयरवालाहरूले विगतमा लिने भन्दापनि महंङ्गाे शुल्क लिने, महङ्गाे शुल्क तिर्न तयार नभए जान नखाेज्नेजस्ता समस्याले आफूँहरु ठगिन बाध्य भएको गुनासो गरेका हुन् ।
संघर्ष समितिले विदेशी पर्यटकबाहेक अन्य यात्रुको टिकट बुकिङ नगर्नसमेत नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाटा) गण्डकी प्रदेशलाई आग्रह गर्दै आन्दोलन थप शसक्त हुने जनाएकाे छ ।
संघर्ष समितिले बिहीबार कालो झण्डासहित सवारी साधनको प्रदर्शन गरेर सुरुआत गरेकाे आन्दोलन आइतबारसम्म आइपुग्दा प्रभाव प्रदेशभर देखिन थालेकाे छ ।
माग सम्बोधन नभए जेठ १९ गतेदेखि देशभरका सवारी साधनहरू ग्यारेजमा थन्क्याएर अनिश्चितकालीन चक्काजाम गर्ने निर्णय समितिले सार्वजनिक गरेको छ।
आन्दोलनको आयोजकमा सार्वजनिक यातायातसँग सम्बन्धित सबै केन्द्रीय महासंघहरू, मजदुर संघ तथा संगठनहरू रहेका छन्।
यता, गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले वार्ता र संवादकाे ढाेका खुला राख्दै नियमावली कार्यान्वयन गर्ने दृढता देखाएका छन् । ‘प्रस्ट कुरा के हो भने यो नियमावली फिर्ता हुँदैन । उहाँहरूको कन्सर्न के हो, त्यसबारे छलफल गर्न सकिन्छ, पाण्डेले भने ।’
प्रकाशित मिति २०८२ जेठ १९ गते आइतबार १०:५६




