पोखरा ।
फेवा तालको सिमांकनप्रति पोखरा पर्यटन परिषद्ले असन्तुष्ट जनाएको छ ।
परिषद्ले सोमबार बिहान पत्रकार सम्मेलन गर्दै जनताको नापी नक्सा पुर्जाभित्रको जग्गाको सिमाना यकिन नगरी सिमांकन गर्न खोज्नु गम्भिर त्रुटि भएको जनाएको छ । परिषद्का अध्यक्ष तारानाथ पहारीले ३ वटै तहका सरकारका प्रतिनिधिले तालघरमा सिमा स्तम्भ गाड्दा ताल वरपरको जनतालाई थाहै नदिएको बताए ।
यसअघि गाडेको सिमास्तम्भलाई वेवास्ता गर्दै नयाँ ठाउामा सिमास्तम्भ गाड्न खोज्नुले विरोधावास भएको पहारीले उल्लेख गरे । फुटट्याक बनाउँदा मुआब्जा समेत नदिई हाल फुट ट्याकको छेउबाट तालघरको सिमाना कायम गर्दा व्यक्तिगत जग्गामा असर परेको उनको भनाइ छ ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिका मेयर धनराज आचार्य र प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले शनिबारदेखि फेवा तालको सिमानामा पोल गाड्न सुरु गरेका थिए । पहिलो दिन ७ पोल गाडेको नगर प्रहरीले आइतबार ८ वटा पोल गाडिएको छ । फेवा ताल वरिपरि एक हजार ५५ वटा पोल गाड्ने तयारी छ । परिषद्का अध्यक्ष पहारीले राज्यले जग्गा प्राप्ती ऐनअनुसार व्यक्तिको जग्गा क्षतिपूर्ति प्रदान गरी आवश्यक प्रक्रिया अगाडि बढाउन जरुरी रहेको बताए ।




