प्रदेशभर ज्यान गुमाउनेकाे संख्या झण्डै १ हजार पुग्याे
पाेखरा । सनिबार काेराेना भाइरसकाे संक्रमणका कारण गण्डकी प्रदेशमा थप ६ जनाकाे ज्यान गएकाे छ । प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार कास्कीका दुई जना, लमजुङ्गका दुई जना, तनहुँका एक जना र बागलुङका एक जनाले पछिल्लाे २४ घण्टामा काेराेनाका कारण ज्यान गुमाएका छन् ।
सनिबार लमजुङ जिल्ला वेशिशहर नगरपालिका ६ कि १७ बर्षीय एक युवतीले समेत काेराेनाका कारण ज्यान गुमाएकी छिन् । नीजमा गत २४ गते काेराेना पुष्टि भएकाे निर्देशनालयले जारी गरेकाे विज्ञप्तीमा उल्लेख छ ।
याे संगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ९९४ पुगेको निर्देशनालयले जनाएको छ ।
यस्तै, पछिल्लाे २४ घण्टामा प्रदेशभर थप १२५ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा गण्डकीका ८८८ जनामा गरिएको नमुना परीक्षणमा थप उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।
याे अवधीमा संक्रमित हुनेहरूमा कास्कीका ४८ जना, तनहुँका ३१ जना, नवलपुरका ३० जना, म्याग्दीका दुई जना र मुस्ताङका पाँच जना र स्याङ्गजाका नौ जना रहेकाे निर्देशनालयले जनाएकाे छ । याे संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ५८ हजार ७५४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा गण्डकीबाट ४३१ जना कोरोनामुक्त भएका छन् ।





