एजेन्सी\सिन्ह्वा ।
भारतको उत्तरपूर्वी राज्य आसाममा आएको बाढीबाट पाँच लाखभन्दा बढी मानिसहरू प्रभावित भएका छन् ।
बाढीले राज्यका २२ जिल्लाहरूलाई असर गरेको र अवस्था अझै पनि गम्भीर रहेको अधिकारीहरूले बताएका छन् ।
आसामका २२ जिल्लाहरूमा ५ लाख १५ हजार ३९ जना बाढीको चपेटामा परेका छन् । बाढीमा परि एक जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएको रिपोर्ट गरिएको छ ।
गत आईतबार राज्यमा १० जनाको मृत्यु भएको थियो । शनिबार भारी वर्षापछि आएको बाढीमा तीन जनाको मृत्यु भएको थियो । पाँच जना पहिरोमा परेका थिए ।
अहिलेसम्म राज्यमा १९ जनाले ज्यान गुमाएका छन् । दुई जना अझै बेपत्ता भएको रिपोर्ट गरिएको छ ।
अधिकारीहरूले प्रभावित जिल्लाहरूमा १ हजार २ सय ५४ गाउँहरू डुबानमा परेको र १२ हजार ६ सय १०.२७ हेक्टर बाली क्षेत्र क्षतिग्रस्त भएको बताएका छन् ।
आसाम राज्य विपद् व्यवस्थापन प्राधिकरणका अनुसार स्थानीय सरकारले प्रभावित क्षेत्रहरूमा १६५ राहत शिविर र १५७ राहत वितरण केन्द्रहरू खोलेको छ ।
गुवाहाटीस्थित भारतीय मौसम विज्ञान विभागको क्षेत्रीय केन्द्रले आसामका धेरैजसो स्थानहरूमा मध्यम वर्षा हुने सम्भावना रहेको बताएको छ ।
बाढीले तटबन्ध, सडक, पुल र अन्य पूर्वाधारमा क्षति पु¥याएको छ ।
यसैबीच, व्रह्मपुत्र र बाराक नदीहरू र तिनीहरूका सहायक नदीहरू, धलेश्वरी र कटखल बाहेक, खतराको चिन्हभन्दा माथि बगिरहेका छन् ।
विगत चार दिनदेखि भारतका उत्तरपूर्वी राज्यहरूमा मुसलधारे वर्षाले विनाश मच्चाएको छ र पहिरो र अचानक बाढी आएको छ ।
यसबाट ४० भन्दा बढीको मृत्यु भएको छ ।
प्रकाशित मिति २०८२ जेठ २३ गते बिहीबार १०:१०




