पोखरा । खानेपानी संस्थानले पोखरामा वितरण गर्ने पानीमा स्वच्छता कायम राख्न उच्च अदालत पोखराले आदेश जारी गरेको छ ।
संस्थानले पोखरा नगरमा वितरण गरेको खानेपानीको धारामा प्रदूषणयुुक्त पानी आउने भएकाले त्यस्तो पानी आपूर्ति नगर्न/नगराउनका लागि संस्थान, पोखरा महानगर तथा भौतिक पूर्वाधार विकास मन्त्रालयलाई विपक्षी बनाएर अधिवक्तासमेत रहनु भएका मीनाकुमारी रानाभाटले अन्तरिम आदेशको माग सहित रीट दायर गर्नुभएको थियो । उच्च अदालतका न्यायाधीशद्धय प्रमोदकुमार श्रेष्ठ बैद्य र विनोदमोहन आचार्यको संयुक्त इजलासले संस्थानका नाममा यस्तो अन्तरिम आदेश जारी गरेको हो ।
त्यसैगरी संस्थानले वितरण गरेको पानी पिउन योग्य छ वा छैन तथा हालै गरिएको प्रयोगशाला परीक्षण सहितको प्रतिवेदन पेशीका दिनमा पेश गर्न भनिएको छ ।
संस्थानले उल्लेखित कार्य गरे, नगरेको र खानेपानीको मुहानको अवस्था के कस्तो छ सोको अनुगमन गरी पोखरा महानगरपालिका र भौतिक पूर्वाधार विकास मन्त्रालय गण्डकी प्रदेशको समन्वयबाट गर्न र सोको प्रतिवेदन पेशीका दिन पेश गर्न समेत आदेशमा भनिएको छ ।
प्रकाशित मिति २०७७ भदौ ३० गते मंगलबार ०१:१७




