पोखरा ।
भारतको गुजरात राज्यको अहमदाबादमा २ सय ४२ जना सवार एयर इन्डियाको यात्रुवाहक विमान दुर्घटनामा २ सय ४१ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
एयर इन्डियाले आफ्नो विमान नम्बर एआई १७१ मा २४२ जना यात्रु सवार रहेको जनाएको छ । तीमध्ये २४१ जनाको मृत्यु भएको पुष्टि भएको उल्लेख गरेको छ । एक जना जीवित यात्रुको मात्र अस्पतालमा उपचार भइरहेको छ ।
मृत्यु हुनेमा २४१ यात्रु र चालक दलका सदस्य रहेका छन् । यसमा अन्य मृत्युको संख्या समावेश गरिएको छैन ।
विमानमा १६९ भारतीय, ५३ बेलायती, एक पोर्चुगिज र एक क्यानेडियन नागरिक सवार थिए । विमान दुर्घटनामा बाँचेका मध्ये एक जना भारतीय मूलका बेलायती नागरिक हुन् ।
विमान बीजे मेडिकल कलेजको होस्टेल भवनको माथिल्लो तलामा ठोक्किएको थियो । मेडिकल कलेजमा डाक्टरी पढिरहेका थुप्रै विद्यार्थी पनि सो दुर्घटनामा घाइते भएका छन् ।
अहमदावाद प्रहरीका अनुसार २५ जना घाइतेको विवरण सार्वजनिक भएको छ । अहमदाबादबाट लन्डन जान लागेको विमानमा २३० यात्रु, दुई पाइलट र १० चालक दलका सदस्य गरी कुल २४२ जना सवार थिए ।
अहमदाबादको सरदार बल्लभ भाई पटेल विमानस्थलबाट उडेको केही क्षणमै बोइङ सेभेन एट सेभेन ड्यास एट ड्रिमलाइनर विमान दुर्घटनामा परेको हो ।
स्थानीय समयअनुसार बिहीबार दिउँसो १ बजेर ३९ मिनेटमा सो विमान उडेको र त्यसको केही सेकेन्डमै ६ सय २५ फिटको उचाइमा विमानको संकेत हराएको थियो ।
भारतका संघीय मन्त्री अमित शाहले बिहीबार पश्चिमी राज्य गुजरातमा भएको विमान दुर्घटनामा एक जना बाँच्न सफल भएको पुष्टि गरेका हुन् ।
उनले दुर्घटनाग्रस्त विमानमा १ लाख २५ हजार लिटर इन्धन रहेको पनि बताए । विमानमा २ सय ३० यात्रु र १२ चालक दलका सदस्य रहेको उनले बताए ।
शाहले एयर इण्डिया विमान दुर्घटनामा मानिसहरूलाई बचाउने प्रयास असफल भएको बताए ।
विमानमा रहेको १ लाख २५ हजार लिटर इन्धनको ज्वलनले तापक्रम अत्यधिक उच्च भएका कारण घाइतेको उद्धारमा कठिनाइ भएको उनको भनाइ छ ।
प्राधिकरणले भने अहिलेसम्म विमान दुर्घटनामा मृत्यु हुनेको संख्या सार्वजनिक गरेको छैन ।
प्रकाशित मिति २०८२ जेठ ३१ गते शुक्रबार ०९:१५




