एजेन्सी\सिन्ह्वा ।
भारत सरकारले बिहीबारको दुःखद् एयर इण्डिया विमान दुर्घटनाको औपचारिक अनुसन्धान शुरु गरेको छ ।
देशका नागरिक उड्डयनमन्त्री राम मोहन नायडूले यसको पुष्टि गरेका हुन् ।
पछिल्ला मिडिया रिपोर्टहरूअनुसार २६५ जनाको शव अहमदाबाद शहरको स्थानीय सरकारी अस्पतालमा लगिएको छ ।
मृतकहरूमध्ये २४१ जना बोइङ विमानमा सवार थिए भने बाँकीको मृत्यु घटनास्थलको भवनमा रहेका नागरिकको रहेको बताइएको छ ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले तोकेको अन्तर्राष्ट्रिय प्रोटोकल अनुरूप विमान दुर्घटना अनुसन्धान ब्युरोले औपचारिक अनुसन्धान शुरु गरेको संघीय मन्त्रीले घोषणा गरे ।
स्थानीय मिडिया रिपोर्टहरूअनुसार विमानको पछाडिको भागमा ब्ल्याक बक्स फेला परेको थियो ।
मेडिकल कलेजको परिसरमा दुर्घटनाग्रस्त भएको विमानमा दुई पाइलट र १० क्याबिन क्रू सदस्यहरू बाहेक १६९ भारतीय नागरिक, ५३ ब्रिटिश नागरिक, सात पोर्चुगिज नागरिक र एक क्यानेडियन थिए ।
एयरलाइन्सले मृतकका परिवारप्रति गहिरो समवेदना प्रकट गर्दै दुर्घटनाको अनुसन्धानमा अधिकारीहरूलाई पूर्ण सहयोग गरिरहेको बताएको छ ।
१२ वर्ष पुरानो बोइङ ७८७–८ विमान ब्क्ष् १७१ नम्बर भएको विमान उडान भरेको केही समयपछि ८२५ फिटको उचाइमा खसेको थियो ।
विमान बीजे मेडिकल कलेजको परिसरमा दुर्घटनाग्रस्त भएको हो । जसले गर्दा भवनहरूमा गम्भीर क्षति पुगेको थियो ।
भारतीय बहुराष्ट्रिय समूह – एयर इण्डियाको स्वामित्वमा रहेको टाटा समूहले विमान दुर्घटनामा मारिएका प्रत्येक व्यक्तिको परिवारलाई १ करोड क्षतिपूर्ति दिने बताएको छ ।
प्रकाशित मिति २०८२ जेठ ३२ गते शनिबार १०:३०




