नवलपुर ।
महेन्द्र राजमार्गअन्तर्गत नवलपुरको दुम्कीबासस्थित विनयी खोलामा बाढी आउँदा डाइभर्सन पार गर्न लागेको यात्रुवाहक बस बगाएको छ ।
बसमा सवार २४ जना यात्रुको सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
काठमाडौंबाट नेपालगन्जतर्फ जाँदै गरेको मे १ ख ४०८५ नम्बरको बस बिहीबार राति करिब पौने १२ बजे विनयी खोलाको डाइभर्सन पार गर्ने क्रममा खोलामा फसेको थियो ।
बाढीमा फसेको यात्रुवाहक बसमा सवार यात्रुहरूको उद्धारका लागि करिब डेढ सय जना प्रहरी परिचालन गरिएको थियो ।

उद्धारपछि बाढीले बस बगाएको थियो । नवलपुर प्रहरीले दिएको जानकारीअनुसार, बगाएको बस डाइभर्सनबाट करिब ५०० मिटर दक्षिणमा भेटिएको हो ।
झन्डै ६ महिना अघि विनयी खोलाको पुरानो फलामे पुल ओभरलोड बोकेको ट्रक (लहरी) का कारण भत्किएपछि अस्थायी रूपमा डाइभर्सन बनाएर यातायात सञ्चालन हुँदै आएको थियो । विनयी खोलाको डाइभर्सन आठ पटक बगिसकेको छ ।
हाल त्यहाँ बन्दै गरेको नयाँ पुल असार १६ गतेदेखि मात्र सञ्चालनमा ल्याउने तयारी भइरहेको सडक आयोजना पश्चिम खण्डका प्रमुख शशांक मिश्रले जानकारी दिए ।
बाढीले दुम्कीबासस्थित डाइभर्सन पूरै बगाएको छ भने दाउन्नेको पैँसट्ठी मोड र विश्वकर्मा मन्दिरको उकालोमा गाडी फसेका कारण महेन्द्र राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिए ।
प्रकाशित मिति २०८२ असार ६ गते शुक्रबार ०९:२०




